तुलसीपुर, ३ पुस । दाङको घोराहीमा पत्रकार महिलाहरुसंग समानता र समावेशीताका लागि महिला सञ्चार शक्तिका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रमका सहभागीहरुले समाजमा विद्यमान लैङ्गिक विभेद तथा सामाजिक असमानता अझै हट्न नसकेको बताएका छन् । त्यस्ता विभेदहरु हटाउन सरकारले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) नीति ल्याएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका हुन् । जिल्लाका सञ्चार संस्थाहरुमा अहिले पनि महिलाहरुको सहभागिता कम रहेको, महिलाको नेतृत्व तथा अर्थपूर्ण सहभागितालाई वेवास्ता गरिएको पत्रकार महिलाहरुले औंल्याएका थिए ।
कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले सञ्चारमाध्यममा उठेका मुद्धाले राज्यको नीति निर्माणमा मार्गदर्शन गरिरहँदा सवाल उठाउने पत्रकारहरुलाई राज्यले सहुलियतता प्रदान गर्न नसकेको भन्दै गुनासो गरेका थिए । सामाजिक समावेशीकरण र समानताका विषयलाई उठाउँदै गर्दा मिडिया हाउसहरुमा लैंगिक समानता कायम हुन नसकेको उनीहरुले बताए थिए । समावेशीता र समताका आधारमा पत्रकारितामा महिलाको सहभागिता चूनौतीपूर्ण बन्दै गएको सहभागी पत्रकार महिलाहरुको भनाइ थियो । राज्य तहबाटै समावेशी नितिको कार्यान्वयन नहुँदा पत्रकारितामा महिलाहरुको स्थायित्व कम हुँदै गएको प्रति चिन्ता समेत व्यक्त गरेका छन् । कार्यक्रममा पत्रकार महिलाहरुलाई सुचना संकलन र अध्ययनका पात्रका रुपमा मात्र प्रयोग गरिने, क्षमतामा प्रश्न उठाउने, महिलाको नेतृत्वलाई विश्वास नगर्ने जस्ता विषयमा छलफल गरिएको थियो । नेपालको संविधान २०७२ हरेक निकायमा लैंगिक समानता हुनुपर्ने व्यवस्था गरेपनि त्यसको प्रत्याभूत हुन नसकेको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेकी डिसीले सञ्चारको अग्रपंक्तीमा रहेका पत्रकार महिलाहरुका सवालमा राज्य संवेदनशील बन्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाले उठाएका मुद्धालाई आधार मानेर राज्यले नीति बनाउँदै गर्दा पत्रकारहरुको अवस्थाका बारेमा सोधखोज नहुनु दुखद भएको बताउनुभयो ।
प्रेस काउन्सील नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले पत्रकारिता गरिरहँदा उपलव्धीबारे समिक्षा गर्न आवश्यक रहेको बताउनुभयो । ग्लोबल एटुजेड कन्सल्टेन्टका कार्यकारी निर्देशक प्रदिप मजगैँया, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसी, नयाँ युगवोध दैनिककी सम्पादक लक्ष्मी आचार्यले लैंगिक समानता र सामाजिक समावेशीकरण, सञ्चारमाध्यममा महिलाको भूमिका , अवस्था र चुनौतीका बारेमा आ–आफ्नो प्रस्तुतीकरण दिएका थिए। नेपाल वान एचडी सञ्चालक मोनिका सिंहले कार्यक्रमको विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो ।
ग्लोबल एटुजेड कन्सल्टेन्टको आयोजना एवम् मानव कल्याण समाज तथा वातावरण संरक्षण केन्द्र दाङ र नेपाल वान एचडीको समन्वयमा कार्यक्रम भएको हो । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका निर्वतमान अध्यक्ष निर्मला गौतमको स्वागत मन्तव्यबाट सुरु भएको अभिमूखीकरणको सहजीकरण संस्थाकी सचिव माया पोख्रेलले गर्नुभएको थियो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।