तुलसीपुर, १७ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले टरिगाउँ बिमानस्थलको स्तर वृद्धिका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउनु भएको छ । डिपिआर सहितको ज्ञापनपत्र बुझाउँदै उपमेयर चौधरीले दाङसहित सल्यान, रोल्पा, रुकुम र प्युठानका नागरिकलाई हवाइ सेवामा सहज पहुँच पु¥याउनका लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट संघिय सरकारमा आवश्यक पहल गरिदिन आग्रह गर्नुभएको छ ।
‘अहिले संघिय सरकारबाट विभिन्न एयरपोर्टका लागि संयुक्त रुपमा बजेट विनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारको तर्फबाट तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल अत्यन्तै आवश्यक छ भनेर व्यहोराको पत्र पठाइदिनुभयो भने त्यसले बजेट विनियोजन र कार्यान्वयनमा अझ सहज हुनेथियो । किनकी हामीले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारेका छौ ।’ उपमेयर चौधरीले भन्नुभयो । सो अवसरमा मुख्यमन्त्री आचार्यले टरिगाउँ एयरपोर्टको स्तर वृद्धिका लागि आवश्यक पहल गर्ने बताउनुभो ।
तुलसीपुर उपमहानगरपालिकाले तयार पारेको डिपिआर अनुसार १९ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइको धावनमार्ग सहित आवश्यक भौतिक पूर्वाधार सम्पन्न गर्न करिब ३ अरब लाग्ने अनुमान गरिएको छ । हालको धावनमार्ग ७ सय ५० मिटर भएका कारण ७२ सिटे जहाजले उडान नभर्दा तुलसीपुरको टरिगाउँ एयरपोर्टमा अनियमित हवाइ उडान हुँदै आएको छ । जसका कारण नागरिकले सास्ती खेप्नु परेको छ ।