तुलसीपुर (दाङ), २९ असोज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई गाईजात्राबाट जोगाउनका लागि काँग्रेस र एमालेले गठबन्धन गरेको बताउनुभएको छ । नेकपा एमाले दाङ क्षेत्र नं. ३ ले तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले ३२ सिटका मालिक पुष्प कमल दहाल प्रचण्डले आफूलाई म्याजिक नम्बर भन्दै कहिले काँग्रेस र कहिले एमालेको बुई चढेर जुनखालको गाईजात्रा यो मुलुकमा देखाइरहेका थिए, त्यसको अन्त्यका लागि ठूला पार्टीको गठबन्धन भएको बताउनुभयो ।
‘ठूलो पार्टीको कुरा सानो पार्टीले सुन्नुपर्ने हो नि । तर ठूलो पार्टीका कुरा आफूले नसुन्ने । सानो पार्टीका कुरा ठूलो पार्टीले सुनिदिनुपर्ने । चित्त नबुझे बाटो बदल्ने । आफू अनुकुल ठूला पार्टीलाई प्रयोग गरेर मुलुकलाई गाईजात्रा बनाइ राखे । त्यसबाट मुक्त गर्न हामी मिलेका हौं ।’ महासचिव पोखरेलले भन्नुभयो । दुई ठूला पार्टी मिलेपछि अहिले देशमा विकास निर्माण र आर्थिक वृद्धि दरले गति लिन थालेको बताउँदै काँग्रेस र एमालेलाई असफल हुने छुट नभएको बताउनुभयो ।
काँग्रेस र एमालेको सरकार पनि असफल भयो भने देशमा लोकतन्त्र धरापमा पर्ने बताउँदै महासचिव पोखरेलले स्थायी सरकारका लागि संविधानका सबल र दुर्बल पक्षको विवेचना गरेर आवश्यकता अनुसार सुधार गर्दै जानुपर्ने बताउनुभयो । क्षेत्रीय समन्वय कमिटीका संयोजक मेघराज भुसालको अध्यक्षतामा एवम् उपसंयोजक एमएन शाहको स्वागत मन्तव्यबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको सहजीकरण सचिव टेक बहादुर वलीले गर्नुभएको एमाले दाङका प्रचार विभाग प्रमुख संगित बस्यालले जानकारी दिनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।