तुलसीपुर, १५ असोज । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका कूल सचिव प्राध्यापक माधव अधिकारीले अनुशासित भएर गुरुहरुले दिएको शिक्षालाई सक्रियताका साथ ग्रहण गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । विद्यार्थीहरुलाई नियमित रुपमा लगनशील भएर विद्यार्थी जीवनको भूमिका निर्वाह गर्न पनि उहाँँले आग्रह गर्नु भयो । तुलसीपुर १८ बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद अध्ययन संस्थान, केन्द्रिय आयुर्वेद विद्यापीठ का १३ औँ सेमेष्टरका विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अधिकारीले शिक्षा दिने कुरामा शिक्षकहरुलाई कन्जुस्याँइ नगरेर खुला हृदयले पढाउन निर्देशन समेत दिनु भयो । विश्वविद्यालयल अनुदान आयोगले शिक्षक र विद्यार्थीहरु मिलेर विभिन्न किसिमका अनुसन्धानका लागि प्रपोजलहरु माग गरिरहेको बताउँदै त्यसमा संयुक्त रुपमा प्रपोजल राख्न र विभिन्न अनुसन्धानका कार्यहरु गर्न आग्रह गर्नु भयो । अनुसन्धानमा लाग्दै गर्दा व्यक्तिगत र सामाजिक क्षमतासँगै राष्ट्रमा चिनिने वातावरण समेत बन्ने बताउनु भयो ।
विश्व विद्यालयमा पटकपटक विभिन्न समस्याहरु देखिरहेको भन्दै ती समस्याहरुलाई समयमा नै समाधान गर्न नसकिरहेको बताउनु भयो । जसले गर्दा समाजमा नकारात्मक सन्देश जाने र विश्वविद्यालयले पनि चाहे जति विद्यार्थी पाउन नसकेको उहाँको भनाइ छ । स्थानिय सरकार, प्रदेश सरकार, र केन्द्र सरकार, विश्वविद्यालय सबैको सहकार्यमा मात्रै विश्व विद्यालय अगाडि बढ्न सक्ने बताउनु भयो । प्राकृतिक चिकित्सालय पनि संचालन गर्ने सोचका साथ अगाडि बढेको उहाँको भनाइ छ ।
कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले जनस्वास्थ्यमा कुनै पनि प्रतिकूल असर ननिम्त्याउने विधि नै आयुर्वेद भएकाले यसको महत्व बुझ्न र यसको प्रयोग गर्न आवश्यकता रहेकोमा जोड दिनुभयो । हाम्रा पुराना पुस्ताहरु अस्पताल नै नदेखेर संसार त्यागेको भन्दै विकासका नाममा हामी कता जाँदैछाँै भन्ने कुरा सोच्नु पर्ने बताउनु भयो । आधुनिकतासँगै हाम्रा आनीबानी परिवर्तन भैरहेको भन्दै आयुर्वेदले ल्याएको परिवर्तन लाई स्मरण गर्न पनि आग्रह गर्नु भयो । जहाँ विकास हुन्छ त्यहाँ विनास हुन्छ भन्ने उखान हाल्दै उहाँले प्रविधि र आधुनिकतासँगै एलोपेथिक औषधीहरुको विकास भइरहेका भन्दै रोगहरु पनि त्यति नै विकास भैरहेको बताउनु भयो । परम्पराका ऋषिमुनिहरुले आयुर्वेदको क्षेत्रमा गरेको खोज अनुसन्धान प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर १८ का अध्यक्ष माधव वली, नेसंवि का सह प्राध्यापक रघुनाथ नेपाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद अध्ययन संस्थान, केन्द्रिय आयुर्वेद विद्यापीठका १२ औँ सेमेष्टरका विद्यार्थीहरुको आयोजना तथा स्वतन्त्र विद्यार्थी यूनियनको व्यवस्थापनमा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । स्वतन्त्र विद्यार्थी यूनियनका सभापति हेमराज बन्जाडे अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी घिमिरेले स्वागत गर्नु भएको थियो ।।