दाङ, १३ असोज । लुम्बिनी प्रदेशका बाढी र पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ । भने प्रदेशमा पछिल्लो तीन दिनमा विपद्का २९ वटा घटना घटेका छन । असोज ११ गतेदेखि १३ गतेसम्म एक जनाको मृत्यु भएको छ । बाँकेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । गुल्मिमा दुइ जना र बाँकेमा एक जना घाइते भएका छन् ।
त्यस्तै नवलपरासी वर्दघाट सुस्ताका एक जना वेपत्ता छन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले बाढी, पहिरोमा परेर १७ वटा घर पूर्ण रुपमा क्षति भएका छन् । एक सय ६१ वटा घरमा आंशिक क्षती भएको छ । एउटा सरकारी भवन पूर्ण क्षति भएको छ ।तीन वटा भवनमा आंशिक क्षति भएको मन्त्रालयको बिवरणमा उल्लेख छ । बाढी पहिरोवाट ९० लाख ९० हजार क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ ।
बाढी र पहिरो प्रभावित एक सय नौं जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पामा प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो । उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा आश्रय लिएका छन् । अब पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले बताउनु भयो ।।