२०८३ कार्तिक ११ गते बुधवार

विमान दुर्घटनामा मृत्यु भएकाको शव परीक्षण शुरु, राष्ट्रिय झण्डा आधा झुकाइदै

काठमाण्डौ, १० श्रावन ।  सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा।गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको उहाँले जानकारी दिनुभयो । मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उहाँले बताउनुभयो । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ । उहाँले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गर्ने बताउनुभयो ।

डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उहाँको भनाइ छ । यसैबीच सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ । हिजो बिहान काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो । विमानका पाइलट मनिष शाक्य घाइते हुनुभएको छ । उहाँको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।