तुलसीपुर, ३० फागुन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान गठबन्दन सरकार २०८४ साल सम्म नै टिक्ने बताउनुभएको छ । एमाले तुलसीपुर नगर कमिटिको आयोजना तथा एमाले पार्टी स्कुल विभाग दाङको सहजीकरणमा आज देखी तुलसीपुरमा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उत्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमको प्रमुख अथिति समेत रहनुभएका उपाध्यक्ष ज्ञवालीले अहिलेको सरकारले नै ८४ सालको चुनाव गराउने भन्दै ८४ मा एमालेले बहुमत ल्याएर एकलौटी सरकार निर्माण गर्ने गरी अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । यसअघिको काग्रेस सम्मेलित पाँच दलिय गठबन्दनको सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेपछी पार्टी नेतृत्वले सरकार परिवर्तनको प्रयास गर्दै आएकोमा अहिले सफल भएको उहाँले बताउनुभयो ।
सोही सरकारले निरन्तरता पाएको भए देश बर्बादीको दिशा तर्फ जान सक्ने खतरा देखिएपछी सरकार ढाल्ने कसरत थालेको र प्रधानमन्त्री प्रचण्डले पनि समयमै बुझेकाले सरकार परिवर्तन गर्न सम्भव भएको उहाँको भनाई छ । देश बदल्ने भाषण गर्न सजिलो भएपनि परिवर्तनका लागी पहिले आफु बदलिनु पर्ने उहाँको भनाई छ । दुनिया बदल्छु भन्नेहरुले नै आफुलाई बदल्न नसक्दा समस्या भएको भन्दै उहाँले आफुलाई नबदलेर दुनिया बदल्न नसकिने बताउनुभयो । सो अवसरमा बोल्दै पार्टी केन्द्रिय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले मिसन ८४ लाई सफल बनाउन पार्टी भित्रको खराबीलाई सुधार्नु पर्ने बताउनुभयो । समाजले तिरस्कार गरेका मान्छेहरु पनि पार्टी भित्र रहेको भन्दै उहाँले यसमा विशेष ध्यान दिन आग्रह गुर्नुभयो । यस्तै कार्यक्रममा एमाले केन्द्रिय उपमहासचिव प्रलिप ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो । उहाँले दर्शनशास्त्र र माक्र्सवादका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा एमाले दाङ जिल्ला इन्चार्ज चेत नारायण आचार्य र दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेत लगाएतले सुभकामना मन्तव्य राख्नुभएको थियो । भोली चैत १ गते सम्म चल्ने प्रशिक्षण कार्यक्रमको सहजीकरण एमाले तुलसीपुर नगर कमिटीका सचिव रुप बहादुर खत्रीले गर्नुभएको थियो ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।