तुलसीपुर, २२ माघ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठक थर्कोटको लेकमा बसेको छ । तुलसीपुर उपमहानगरपालिका- ३ मा पर्ने थर्कोट भौगोलिक दृष्टिकोणले १९ वटा वडा मध्य सबैभन्दा बिकट र अग्लो स्थानमा पर्दछ । थर्कोट धार्मिक दृष्टिकोणले पनि उत्तिकै महत्व रहेको छ । उपमहानगरको कार्यपालिका बैठक नगरपालिकाको हलकोठा भन्दा बाहिर विकट बस्तीको टाकुरामा बसेको यो पहिलो पटक हो ।
बिकट बस्तीलाई शहरसंग निकट गराउन र उपमहानगरका भौगोलिक अवस्थालाई नियाल्दै सोही बमोजिका गुरु योजना तयार गर्ने उद्देश्यले थर्कोटमा बैठक बसेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । भौगोलिक दृष्टिकोणले विकट भएपनि धार्मिक तथा पर्यटकीय क्षेत्रको हिसाबले महत्व बोकेका क्षेत्रको प्रत्यक्ष अवलोकन गर्दा त्यसको गुरुयोजना र मोडेल बनाउँदा सबैको बुझाई साझा हुने प्रवक्ता वलीले बताउनुभयो ।
‘वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू सबै वडाहरूमा नपुगेका पनि हुनसक्छन । त्यस्तो अवस्थामा वडा अध्यक्षहरूको चासो आफ्नो वडामा मात्रै हुन्छ र उनिहरुले विकास बजेट आफ्नो वडामा बढीभन्दा बढि लग्न खोज्छन् । त्यसकारण यस्तो भौगोलिक विकटता र पर्यटकीय क्षेत्र भएका ठाउँमा बैठक बस्दा हुने प्रत्यक्ष अवलोकनले त्यस ठाउँको विकासमा सहयोग पुग्छ ।’ प्रवक्ता वलीले भन्नुभयो ।
अबको बैठक तुलसीपुर–४ को चमेरे गुफा, १३ को जन्तीढुङ्गा, १९ को छिल्लीकोट लगायतका पर्यटकीय क्षेत्रमा बस्नेछ । कार्यपालिकाको पहिलो बैठकले तुल्सीपुरदेखि डाडाँखुटी हुँदै बल्ले सम्मको सडक स्तरोन्नतिका लागि संकल्प पारित गरेको छ । यातायातको सहज पहुँचका लागि प्रदेश र संघीय सरकारसँग आगामी वर्षमा बजेट माग गर्ने निर्णय समेत गरिएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।