तुलसीपुर, १५ माघ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको निर्माणाधीन भवन अलपत्र परेको छ । १० करोड भुक्तानी लिएर निर्माण व्यवसायी अर्जुन दहाल सम्पर्क विहीन भएपछि निर्माणाधीन भवन अलपत्र परेको हो । अस्पतालको ओपिडी भवनको माथिल्लो तला थप्नका लागि रबिना एण्ड अभिषा जेभी काठमाण्डौले ११ करोड ३४ लाख ३३ हजार १ सय १८ रुपैयाँमा ठेक्का लिएको थियो ।
निर्माण कम्पनीले २०७९ चैत्र १२ गते निर्माण कार्य पुरा गर्नेगरी २०७७ असोज १३ गते सहरी विकास तथा भवन कार्यालय दाङसंग सम्झौता गरेको थियो । समयमा निर्माण कार्य पुरा गर्न नसकेको निर्माण कम्पनीले १० करोड ६८ लाख ७६ हजार २ सय २८ रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले २०८० असार २४ गतेसम्म विभिन्न मितिमा उक्त रकम भुक्तानी लिइसकेको सहरी विकास तथा भवन कार्यालय दाङका लेखाशाखाका प्रेम प्रकाश खडकाले जानकारी दिनुभयो । निर्माण कम्पनीले तला थप गर्ने काम जेनतेन सके पनि अब हलकोठा, महिला तथा पुरुष लागि शौचालय र ल्यावका लागि पाटेसनको काम गर्न बाँकी रहेको छ ।
सम्झौता अनुसार ३० महिनासम्म काम गर्न नसकेको निर्माण कम्पनीले २०८० असारसम्म निर्माण कार्य पुरा गर्ने गरि ३ महिनाको म्याद थप गरेको थियो । थप गरेको म्यादमा पनि काम पुरा गर्न नसकेपछि पुनः २०८१ जेठ मसान्तसम्मका लागि भन्दै ११ महिनाको म्याद थपका लागि निवेदन दिएको कार्यालयले बताएको छ । यता निर्माण व्यवसायी अर्जुन दहालका आधिकारीक प्रतिनिधी जगत दहालकाे माेबाइल नम्बर ९८४९०७०२४१ पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनै चाहेनन् ।
ठेकदारको अनुहारै देखेको छैन : अस्पतालका मेसु डा. अधिकारी
राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले करिब १० महिनादेखि ठेकेदार सम्पर्कमा नआएको बताउनुभयो । ठेकदारले पैसा नदिएको भन्दै ल्यावका लागि पाटेसन गरिएका अल्मुनियमको ढोका, झ्याल उप्काएर पसलवालाले लग्दै गर्दा आफुरुले रोकेको बताउनुभयो । भवनको कस्तो संरचना बनाउने भन्ने विषयमा समेत ठेकदारले आफुहरुलाई इस्टमेट नदेखाएको गुनासो गर्दै मेसु डा.अधिकारीले समयमा काम नगर्दा निकै समस्या परेको बताउनुभयो ।
‘ठेकदारले कार्यालयबाट पैसा भुक्तानी लिसक्यो भन्ने सुनेको छु । यता भने पसलवालाले पैसा नपाएर झ्याल, ढोका, लगायत पाटेसन गरिएका अल्मुनियमका सामान उप्काएर लग्दै गर्दा रोकेका छौ । बिचरा सोझो रहेछ । सामान उप्काएर लग्दै छु भन्न आएको थियो । अस्पतालमा निर्माण गरिसकेको सामान लग्न पाइदैन । पैसा लग्नुपर्ने छ भने ठेगदारलाई भन्नुस । मुद्दा हाल्नुस भन्यौ । ती सबै सामान अहिले एउटा कोठामा ताला लगाएर राखेका छौ । यो कस्तो देश हो । काम पुरा नहुँदै पैसा दिने ।’ डा. मेसु अधिकारीले भन्नुभयो ।
सम्बन्धित निकायको लापरवाहीका कारण ४ वर्षसम्म निर्माण व्यवसायीले एकतला थप र त्यसभित्रको संरचना तयार नगर्दा सेवा प्रवाहमा ठूलो समस्या परेको अस्पताल प्रशासनले बताएको छ । एकातिर उपचार सेवा लिन आउँने बिरामीहरूको दैनिक भिडभाड बढ्दै जानु र अर्कोतर्फ कोठा अप्रयाप्त हुँदा ल्यावसेवा सञ्चालन र स्तरवृद्धि, बिरामी चेकजाँच देखि प्रशासनिक कामकाजमा समेत ठूलो असर पुगेको अस्पतालका मेसु डा. अधिकारीले बताउनुभयो । अस्पताल जस्तो संवेदनशील कुरामा सम्बन्धित निकाय गम्भिर बन्नुपर्ने अस्पतालले बताएको छ ।
के भन्छ भवन कार्यालय

यता ठेकदार अर्जुन दहालका पार्टनर भरत नाम गरेका व्यक्ति सम्पर्कमा आएर छिटै काम सुरु गछौ भनेर निवेदन दिएको सहरी विकास तथा भवन कार्यालय दाङले जनाएको छ । कारबाही गर्दा मुद्दामामिला गर्नुपर्ने झन्झटिलो प्रकृया भएको र काम पनि पेन्डिङमा बस्ने भएकाले लचकता अपनाएको भवन कार्यालय प्रमुख अरुणकुमार देवले बताउनुभयो ।
‘अस्ती शुक्रबार ठेकदारको पार्टनर आएको थियो । मैले जसरी पनि त्यो काम २/३ महिनामा कम्प्लिट गर्नुस भनेको छु । अब म काम गर्छु भनेको छ । यदि गरेन भने त कारबाही अघि बढ्छ ।’ डिभिजन प्रमुख अरुण देवले भन्नुभयो । निर्माणकाे काम अन्तिम चरणमा पुगेकाले बाँकी काम पनि बन्ने कार्यालयले बताएकाे छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।