काठमाडौँ, ६ माघ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौँसहित कास्की, सुर्खेत र बारा जिल्लामा दुर्घटना भएका हुन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका(६ मुलपानीस्थित क्षेत्रीय उपत्यका बसपार्कमा बा २ ख २५६९ नम्बरको बसको ठक्करबाट सिरहा गोलबजार नगरपालिका १२ बेतौना घर भई काठमाडौँ मुलपानी बस्ने २९ वर्षीय हरि यादबको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २४ कास्कीकोट काउलेस्थित सडकमा ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसको ठक्करबाट उक्त विद्यालयको नर्सरी कक्षामा पढ्ने सोही ठाउँ बस्ने तेज बहादुर कार्कीको छोरा ३ वर्षीय समिर कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ । स्कुल बसबाट झरेर घरतर्फ जाने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता सुर्खेतको बराहताल गाउँपालिका ५ स्थित सडकमा पंचपुरीबाट सुर्खेततर्फ जाँदै गरेको बा ८१ प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका ५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी बाराको फेटा गाउँपालिका ३ फेटा नहरस्थित सडकमा ना ५८ प १३३१ नम्बरको मोटरसाइकल र बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना ५८ प १३३१ नम्बरको मोटरसाइकल चालक फेटा गाउँपालिका ३ फेटा बस्ने २७ वर्षीय रंजित साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।