कैलाली, २८ पुस । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएपछि घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका १ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका ५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार पुस २५ गते साँझ साथीसँगै दोहोरी साँझ गएका देउवा भोलिपल्ट गोदाबरीको चौकीडाँडामा घाइते अवस्थामा भेटिएका थिए । उनीसँगै दोहोरी साँझमा गएका कृष्णपुर नगरपालिका ४ का २८ वर्षीय टेकबहादुर नायकले घर पुर्याइदिएपछि घाइते देउवालाई उनको परिवारले उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगेका थिए ।
देउवाको उपचारकै क्रममा मृत्यु भएपछि उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । विवादका क्रममा देउवालाई कुटपिट गरेको आरोपमा प्रहरीले उनीसँगै दोहोरी साँझ गएका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका १ का २७ वर्षीय विनोद शाह, गोदावरी ६ का २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका ९ का ३८ वर्षीय रामबहादुर ऐर र उनीसँगै गएका टेकबहादुर नायक रहेको डीएसपी चन्दले बताउनुभयो । मृतकका परिवारले उनीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।