चेतन वली तुलसीपुर, २७ कात्तिक । तिहार सुरु भएसँगै दाङको तुलसीपुरमा पटका आतंक बढेको छ । दिउँसो भन्दा रातको समयमा बढि पटका पट्किरहेका हुन्छन् । पटका पट्काउन सरकारले प्रतिबन्द लगाएपनि कार्यान्वयन भने गर्न नसकेको स्थानिय नागरिकको गुनासो छ । दाङको दंगीशरण गाउँपालिका १ घरभई हाल तुलसीपुरको वसपार्कमा दुर्गा मिठाई पसल सञ्चालन गर्दै आउनुभएका राजेश वलीले पटकाले आफु लगाएत सबैलाई समस्या पारेको बताउनुभयो । एकोहोरो रुपमा काम गरिहेका बेला पटकाले झस्काउने गरेको उहाको भनाई छ । सरकारले पटका पट्काउन हुन्न भन्दै आएपनि आँखै अगाडी पटका पट्किने गरेको उहाले बताउनुभयो । छिमेकी देशबाट पटका आउने हुदा बोर्डरमै कडा चेकजाँच गरेर नेपाल प्रवेश गराउनबाट रोक्नुपर्ने उहाको भनाई छ । पटकाले गर्दा शान्त वातावरणमा बसिरहेका मानिस बढि त्रसिने गरेको भन्दै ससाना बच्चाहरुलाई यसले झनै असर गरेको तुलसीपुर ५ निवासी नन्दलाल भण्डारीले बताउनुभयो । पटका पट्काउने भन्दा पनि पटका नेपाल ल्याउने र बेच्नेलाई कारवाही गर्नुपर्ने उहाको भनाई छ । तुलसीपुरको वसपार्कमा पटका नियन्त्रणमा प्रहरीले चासो दिएको भण्डारीले बताउनुभएको छ । तरपनि लुकिछिपी पट्काउनेले गर्दा समस्या भएको उहाको भनाई छ । पटका पटकाउने र प्रहरी पुग्दा सुनसान हुने हुदा कसले पट्कायो भनेर पनि थाहा पाउन कठिन भएको उहाले बताउनुभएको छ । बाहिरबाट पटका भित्री रहदा यहा प्रहरीलाई समेत नियन्त्रणमा कठिन भएको उहाले बताउनुभयो । ग्रामिन भेगमा भन्दा बजार आसपासका क्षेत्रमा बढि पटका पट्किरहेको सुनिन्छ ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डीएसपी ठाकुर प्रसाद पोख्रेलले भने पटका पट्काउन नमिल्ने बताउनुभएको छ । पटका नियन्त्रणका लागी तुलसीपुर क्षेत्रमा पनि व्यापक रुपमा प्रहरी परिचालन गरिएकाले त्यसरी पटका पट्काउने क्रम धेरै कम भएको उहाले दाबी गर्नुभयो । घरघरमा फाट्टफुट्ट पट्किएपनि पहिले जसरी पटका नपट्किएको उहाले बताउनुभयो । यसका लागी सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको डीएसपी पोख्रेलले बताउनुभयो । पट्काउदै गरेको अवस्थामा भेटिएमा सम्झाउने बुझाउने काम भइरहेको भन्दै उहाले कतै पटका पट्किएको थाहा पाएमा तुरुन्तै प्रहरीलाई खबर गर्न पनि आग्रह गर्नुभएको छ । यदी कसैले पटका पट्काएको फेला परेमा कानुन अनुसार कारवाही गरिने डीएसपी पोख्रेलको भनाई छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबन्धु सुवेदीले पनि दाङमा पटका नियन्त्रणमा प्रहरी प्रशासन सक्रिय रुपमा लागेको बताउनुभएको छ । पटकाले विभिन्न किसिमका असर गर्ने हुदा यसको उपयोगलाई पुर्ण रुपमा प्रतिबन्द लगाइएको उहाले बताउनुभयो । पटका पट्काउने संकृति हाम्रो नभएको भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले यसको प्रयोग गर्न नहुने बताउनुभएको छ । नेपाल सरकारले नै यसको आयातमा पुर्णरुपमा प्रतिबन्द लगाएकाले सिमानाकाहरुमा समेत कडाई गरिएपनि तस्करहरुले कताकताबाट लुकाइछिपाई ल्याउने गरेको उहाको भनाई छ । विक्रिवितरणमा समेत निषेध गरिएकाले कसैले विक्री गरेको पाइएमा कारवाही गरिने उहाले बताउनुभयो । प्रशासनले यसको उपयोगमा कडाई गरेपनि नागरिकले यसमा चासो नदिएको उहाको भनाई छ । पटका पट्काएको भनेर अहिले सम्म कसैले पनि प्रहरी प्रशासनलाई सूचना नदिएकाले पनि सबै नागरिक एकातिर र प्रशासन एकारित भएजस्तो महसुस भइरहेको उहाले बताउनुभयो ।
प्रशासनलाई सूचना नदिएर सबै नागरिक रमाइलोमा लाग्दा पटका नियमनमा थप समस्या भएको उहाको भनाई छ । यसको प्रयोग विक्रिवितरण नागरिकले नै गर्नी हुदा नागरिकस्तरबाटै सचेत नागरिकले प्रशासनलाई जानकारी गराएमा तत्काल कारवाही गर्न सकिने उहाको भनाई छ । एउटा पक्षले पटका पट्काउदा अर्को पक्षलाई असर गर्यो भने उसले नै यस्तो ठाउँमा पटका पट्कियो भनिदिएमा पनि सोही स्थानमा गएर आसपासका नागरिकलाइ छानविन गर्न सकिने भएकाले तत्काल प्रहरीलाई खबर गर्न पनि उहाले आग्रह गर्नुभएको छ । पटकाजस्ता विस्फोटक पदार्थ उपयोग गर्दा दीर्घरोगी, बिरामी, बूढापाका, बालबालिका बढी सचेत हुनुपने चिकित्सकहरुले बताएका छन् । उल्लास थप्न उपयोग गरिने यस्ता वस्तुलाई सुरक्षित रूपले प्रयोग नगर्दा दुर्घटना मात्र ननिम्तिेर स्वास्थ्य बिग्रिने र ज्यानसमेत जान सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । डाक्टरका अनुसार पटकाबाट निस्किने सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता विषाक्त ग्यास र लेडजस्ता कणले गर्दा दम र मुटु रोगीमा बढि समस्या हुने गर्दछ । दम तथा मधुमेह भएकालाई पटकाको आवाज र धुँवा बढी जोखिमपूर्ण हुन्छ । पटकाले छाला डढ्नु, फोक्सो र मुटुमा समस्या हुनुका साथै अन्धोसमेत बनाउन सक्छ भने पटकाको आवाजले मानिसको सुन्ने क्षमता समेत गुम्न सक्छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।