२०८३ मङ्सिर १० गते बिहिवार

सुन्ने मान्छे नभएपछि माधव र झलनाथले तुलसीपुरमा भाषण गरेनन्

दाङ २३ असोज । सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भाषण नगरेर फर्किएका छन् । मेचीमहाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रित चोकमा मंगलबार कार्यक्रमको आयोजना गरिएको थियो । पार्टीका कार्यकर्ता,   सुरक्षाकर्मी, र स्वयम् नेताहरू सहित झण्डै १ सय ५० जनाको हाराहारीमा मान्छेहरू जम्मा भएपछि पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले भाषण नगरेर बाँकेको कोहलपुर तर्फ लागेका हुन् । कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र दाङ सह इन्चार्ज अनारकली मियाले सम्बोधन गर्नुभएको थियो ।

गाडीमा चार वटा माइक अगाडि पछाडि राखेर तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरेपनि कार्यकर्ताहरुको नगन्य मात्रामा भएको उपस्थितिले नेताहरू निराश भएका छन् । ‘घर तर्फ जाँदै थिए यसो हेरेको माधव नेपाल र झलनाथ खनाललाई देखेर भाषण सुन्न बसे । उनीहरू त जुरुक्क उठेर भाषण नगरेर हिँडे । मान्छे नभएर भाषण नगरेको बुझियो । तर अरु नेता नबोलेर माधव नेपाल मात्रै ५ मिनेट बोलेको भए पनि हुने थियो । आधाघण्टाकाे समय बेकार खेर गयो  । यसले राम्रो सन्देश गएन ।’ नेपाली काँग्रेस निकट शिक्षक एकराज केसीले भन्नुभयो । 

यता नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह इन्चार्ज अनारकली मियाले भाषण सुनाउने मान्छे नभएको र नेपालगञ्ज जान ढिला भएकाले पनि दुबै जना नेताले भाषण नगरेको बताउनुभयो ।  ‘केलाई सुनाउन भाषण गर्ने हो र ? घोराहीमा पनि कार्यक्रम थियो । मान्छे सबै उतै रहे । यहाँ कस्लाई सुनाउने हो । फेरि कमरेडहरूलाई नेपालगञ्ज जान पनि हतार थियो ।’ सहइन्चार्ज मियाले भन्नुभयो ।

पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, एकीकृत समाजवादीका नेता भागवत विश्वासी, दाङका नेकपा एसका अध्यक्ष सुरामणी बेल्बासे लगायतका समाजवादीका सयौँ नेता तथा कार्यकर्ता एमालेमा समाहित  भएपछि त्यसको प्रभाव पार्टीमा देखिएको हो ।  

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।