तुलसीपुर, १५ असाेज । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले ढुक्क भएर ब्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भएको छ । प्रजिअ सुवेदीले व्यवसायिक सुरक्षा प्रमुख प्राथमिकतामा रहेको भन्दै व्यवसायिक वातावरणका लागि स्थानीय प्रशासन लागि परेको बताउनु भयो । तुलसीपुर उद्योगवाणिज्य संघको आयोजनामा सोमबार आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै प्रजिअ सुवेदीले तुलसीपुर क्षेत्रमा नागरिक र सुरक्षाकर्मीहरूको बिचमा समन्वय र सूचना सम्प्रेषण गर्नुपर्ने बताउनु भएको छ ।
उहाँले व्यवसायीहरू पछिल्लो समय आर्थिक मन्दीको मार खेप्न बाध्य रहेको भन्दै बजार ,कलकारखाना र उद्योग धन्दा सञ्चालनको लागि स्थानीय प्रहरी प्रशासनले पूर्णरुपमा सहयोग गरेर व्यवसायिक प्रवर्द्धनमा लाग्न स्पष्ट निर्देशन दिएको समेत बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले व्यवसायिक सुरक्षा कायम गर्दै तुलसीपुर क्षेत्रको शान्ति सुरक्षा कायम गर्न प्रहरीको ध्यानाकर्षण भएको बताउनुभयो। सो अवसरमा उहाँले पछिल्लो समय तुलसीपुर क्षेत्रलाई हाउँगुजी बनाएर अनावश्यक हल्ला फैलाएको भन्दै हल्लाको पछि नलागेर प्रहरीलाई सत्य तथ्य सूचना दिन अनुरोध गर्नु भएको छ ।
साे अवसरमा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश सल्लाहकार नारायण खनाल, पूर्व अध्यक्ष विमल रिजाल लगायतले सहकारी पीडित व्यवसायीहरूको उद्योग वाणिज्य सङ्घमा निवेदनका चाङ रहेको भन्दै स्थानीय प्रशासनले उनीहरूलाई कानुनी दायरामा ल्याउनु पर्ने बताएका थिए । वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासचिव बिनील केसीले गर्नु भएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।