फिजियो थेरापी सेवा विहीन प्रादेशिक अस्पताल तुलसीपुर

तुलसीपुर, २२ भदौ । पछिल्लो समय फिजियो थेरापीतिर आकर्षण बढिरहेको छ । तर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भने फिजियो थेरापी सेवाका लागि न मेसिन छ नत जनशक्ति नै । तुलसीपुरमा प्रादेशिक अस्पताल भएर पनि थेरापीका लागि निजि अस्पतालमा जानुपर्ने अवस्था रहेको छ । राप्ती प्रादेशिक अस्पतालमा फिजियो थेरापी सेवा नहुँदा नागरिकहरु दैनिक पाँच सय देखि एक हजार रुपैयाँ सम्म खर्च गेर दैनिक फिजियो थेरापी सेन्टरमा सेवा लिने गरेको तुलसीपुर ४ निवासी रामलक्ष्मण चौधरीले बताउनुभयो । ‘तुलसीपुर बजारमा ठूलो अस्पताल छ । तर फिजियो थेरापी गर्ने न मेसिन छ । न डाक्टर छन् ।

हामी गरिबहरु भने बाहिर गएर महंगो शुल्क तिरेर सेवा लिनु पर्छ ।’ चौधरीले भन्नुभयो । यता राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेसु पदमराज अधिकारीले ५० बेडको अस्पताल भएकाले फिजियो थेरापी सेवा संचालन गर्न नसकिएको बताउनुभयो ।

‘देख्दा ठूलो अस्पताल मात्रै हो । कागजमा ५० बेडको छ । बाहिर हल्ला २ सय बेडको छ । अब दुई सय बेडको स्वीकृत भएपछि फिजियो थेरापी सेवा सुरु हुनसक्छ ।’ निमित्त मेस डा. अधिकारीले भन्नुभयो । तुलसीपुरमा दैनिक रुपमा फिजियो थेरापी   सेवा लिनेकाे  संख्या करिब दुई सय भन्दा बढी भएको अनुमान गरिएको छ । फिजियो थेरापी सेवा बाइ, वाथ, हाडजोर्नी, नसा सम्बन्धी समस्या भएका बिरामीले लिने गर्दछन् ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया