तुलसीपुर, १४ भदौ । पछिल्लो समय दाङमा मातृशिशु मृत्युदर बढ्दै गएको छ । विगतको तुलनामा पछिल्लो समय दाङमा मातृशिशु मृत्युदरको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय दाङको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७५÷०७६ देखि आर्थिक वर्ष २०७९÷०८० सम्मको ५ आर्थिक वर्षको अवधिमा २९ जना सुत्केरी महिला र ४६ जना शिशु गरी ७५ जनाको मृत्यु भएको छ । जसमा सबै भन्दा धेरै तुलसीपुरमा २८ शिशु र १५ महिला गरी ४३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका पव्लिक हेल्थ नर्स सीता कँवरले जानकारी दिाुभयो । यसरी तथ्यांकलाई हेर्दा आमा भन्दा शिशुको ज्यान जानेको संख्या बढी रहेको कार्यालयले दिएको तथ्याँकले देखाएको छ । आर्थिक वर्ष ०७५÷०७६ र २०७६÷७७ मा ४÷४ जना, २०७७÷०७८ मा १०, २०७८÷७०७९ मा ११ र २०७९÷०८० मा १७ जना गरी ४६ शिशुको मृत्यु भएको हो भने आर्थिक वर्ष ०७५÷०७६ र २०७७÷०७८ मा शुन्यमा रहेको मातृमृत्युदरको संख्या आर्थिक वर्ष २०७६÷०७७ मा १, ०७८÷०७९ मा ८ र २०७९÷ ०८० मा ७ जना गरी २९ जना रहेको छ । स्थानिय तह अनुसार सबै भन्दा धेरै तुलसीपुरमा १५ जना आमा गएको छ । यस्तै शान्तिनगरमा ३, घोराही, लमही, बबईमा २÷२, गढवा, राप्ती, राजपुर, दंगिशरणमा १ ÷१ जनासमिहलाको मृत्यु भएको छ । बंगलाचुलीमा भने शुन्य रहेको छ । शिशुको ज्यान जाने संख्या पनि तुलसीपुरमै धेरै रहेको छ । तुलसीपुरमा २८, घोराहीमा १०, राजपुरमा ४, लमहीमा ३ र गढवामा १ जना रहेको छ भने अन्य ५ वटा पालिकामा सुन्य शिशुमृत्युदर रहेको कार्यालयको तथ्याँक रहेको छ । तथ्यांक लिँदा सुत्केरी भएदेखि ४५ दिनसम्मका महिलाहरू र २ वर्षभित्रका शिशुहरुलाई लिने गरेको कँवरले बताउनुभयो । तुलसीपुरमा मातृशिशु मृत्युदर कसरी बढ्यो ? दाङको तुलसीपुर उपमहानगरपालिकामा मातृशिशु मृत्युदरको संख्या शुन्यमा झरेको थियो । तर कोरोना भाइरस संक्रमणको महामारीपछि तुलसीपुरमा फेरी मातृशिशु मृत्युदरका घटना देखिन थाले । अन्तराष्ट्रिय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा कोभिड संक्रमण बढेसँगै गरिएको लकडाउनपछि तुलसीपुरमा मातृशिशु मृत्युदरको संख्या केही मात्रामा देखिन थालेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका स्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले सुत्केरी प्रोत्साहन अन्तर्गत पाँच हजार भत्ता दिँदै आएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुत्केरी भत्ता कार्यक्रमका कारणले गर्दा पनि मातृशिशु मृत्युदर शून्यको अवस्थामा आएको थियो । सुत्केरी प्रोत्साहन भत्ताका कारण सुत्केरीले नियमित आफू र बच्चाको चेकजाँच गरेको भएकाले सकारात्मक नतिजा आएको हो । उपमहानगरपालिकामा मातृसुरक्षाका कार्यक्रम सञ्चालन गरेपछि मातृशिशु मृत्युदर शून्यमा झरेको थियो । स्वास्थ्य शाखाले गरेको सर्वेक्षणमा आर्थिक वर्ष ०७५÷७६ मा कसैले पनि प्रसूतिका कारणले ज्यान गुमाउनु परेको थिएन । आर्थिक वर्ष ०७४÷७५ मा यसरी मृत्यु हुनेहरूमा प्रतिलाखमा ४५ जना रहेका थिए । उपमहानगरपालिकामा मातृशिशु मृत्युदर शुन्यमा रहेको स्वास्थ्य संस्थाको सर्वेक्षणले देखाउँदै गर्दा २ वर्षको अवधिमा मात्रै १५ जना सुत्केरी महिलाको ज्यान गयो । गत आर्थिक बर्ष २०७९÷८० मा उपमहानगरपालिकाका ७ जना र ०७८÷०७९ मा ८ जना गरी १५ जना सुत्केरी महिलाको ज्यान गएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका पब्लिक हेल्थ नर्स राधिका गौतमले जानकारी दिनुभयो । उहााका अनुसार गत आर्थिक वर्षमा मात्रै वडा नंबर १०, ११, १२, १३ र १५ का १÷१ जना र १४ का २ जना तुलसीपुरबाट रिफर भएका महिलाको ज्यान गएको हो । तुलसीपुरबाट बाँके लैजाँदै गर्दा ३ जनाको बाटोमा, एक जनाको काठमाडौँमा, भेरी अस्पताल नेपालगञ्जमा एक जना र २ जनाको बाँकेको कोहलपुरमा ज्यान गएको हो । २ जना १९ वर्षका र ५ जना २५ देखि ४० वर्ष उमेर समुहका महिलाहरु रहेको उहाँको भनाई छ । गत आर्थिक वर्षमा नगरका १२ देखि ५५ वर्ष उमेर समुहका ४६ जना महिलाहरुको मृत्यु भएको छ । अनुसन्धान गर्दै जाँदा ७ जनाको भने गर्भवती, सुत्केरी र गर्भपतनबाट ज्यान गएको खुलेको हो । सानै उमेरमा विवाह गरेर सुत्केरी हुने, आर्थिक अवस्था कमजोर भएकोे, परिवारसँग आफ्नो समस्या बताउन नसक्ने, श्रीमान घरमा नरहेको, स्वास्थ्य संस्थामा नजाने महिलाहरुको ज्यान गएको गौतमले बताउनुभयो । यस्तै गर्भावस्था र सुत्केरी महिलाको हेरचाहमा लापरवाही, गर्भ जाँच गराउँदा सरकारी स्वास्थ्य संस्थामा नगएर निजी स्वास्थ्य संस्थामा जाने, गर्भवती हुँदा गर्भमा रहेको शिशु र आमाको स्वास्थ्यको ख्याल नगर्ने, सुत्केरी हुने बेला समयमा अस्पताल नजाने र अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा आउने कारणले यस्ता घटनाहरु निम्तिएको हो । ‘१९ वटै वडामा कार्यरत स्टाफ नर्सहरुले मृतकको घरमा गएर स्क्रिनिङ फाराम भर्छन् । यो फाराममा के कारणले मृत्यु भएको हो भन्ने कुरा उल्लेख गरिएको हुन्छ । अस्पतालमा गरिएको चेकजाँचको रिपोटका आधारमा फाराम भरिन्छ । यो भरेर शाखामा पठाउनुहुन्छ । र स्वास्थ्य शाखाले फेरी मृतककै घरमा गएर डिटेल लिन्छौँ । स्वास्थ्य मन्त्रालयले तयार पारेको १ सय ९ वटा प्रश्नहरु हुन्छन् । यसको जवाफ आएपछि प्रसुति तथा महिला रोग विरेषज्ञ डाक्टरलाई देखाउँछौँ र के कारणले मृत्यु भएको भनेर पुष्टि हुन्छ । यसरी पत्ता लगाउनेलाई एमपिडिएसआर कार्यक्रम भनिन्छ । यसरी पुष्टि हुनेमा ४६ जनामा ७ जना छन् ।’ गौतमले भन्नुभयो । अन्य महिलाहरुको भने दुर्घटना लगायत अन्य कारणले मृत्यु भएको हो । ज्यान गुमाएका ७ जना महिलाहरु सबै गरिब तथा सीमान्तकृत, पिछडिएका समुदायका रहेका छन् ।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।