२०८३ मङ्सिर १० गते बिहिवार

 विशेषज्ञ सेवाका लागि राप्ती आँखा अस्पतालका २० योजना 

तुलसीपुर ,२२ वैशाख ।  समुदायमा रहेका आँखा तथा कान सम्बन्धी स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्नका लागि राप्ती आँखा अस्पताल तुलसीपुरले महत्वपूर्ण योजनाहरू अघि सारेको छ । नेपाल नेत्र ज्योति संघ दाङको १९ औं साधारणसभा तथा अधिवेशनमा प्रस्तुत गरिएको प्रतिवदेनमा आँखा स्वास्थ्य सेवालाई स्तरोन्नति गरी आधुनिक प्रविधिबाट जलविन्दु सेवा सञ्चालन गर्ने, अस्पतालमा थप विशेषज्ञ सेवा वृद्धि गर्ने, थप अत्याधुनिक उपकरणहरूको माध्यमबाट आँखा उपचार सेवा विस्तार गर्ने उल्लेख गरिएको छ । त्यसैगरी आर्थिक अभावका कारण अस्पताल सम्म पुग्न नसक्ने नागरिकहरूलाई लक्षित गरेर ग्रामीण भेगहरूमा संचालन गर्दै आइरहेको आँखा शिविरका कार्यक्रमहरूलाई वृद्धि गरिने भएको छ ।
संघका सचिव सुरेन्द्र बहादुर खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा सल्यान र रुकुम पश्चिम उपचार केन्द्रलाई सर्जिकल सेन्टरका रुपमा विकास गर्नुका साथै तुलसीपुर, लमही र बहादुरगञ्जमा सञ्चालनमा रहेका आँखा अस्पतालमा बालबालिका र महिलामैत्री बनाएर सेवाको पहुँचमा वृद्धि गर्ने  गरि २० वटा याेजना अघि सारिएकाे छ । सो अवसरमा बोल्ने सहभागी वक्ताले अन्धोपन निवारणका लागि नेपाल नेत्रज्योति संघले महत्वपूर्ण भूमिका खेलेको बताउँदै गरिब तथा विपन्न वर्गका लागि पनि सहज र
सर्वसुलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा संघका अध्यक्ष कृष्णकुमार गिरीले दातृ निकायको सहयोगमा सञ्चालन हुँदै आएको अस्पताललाई नेपाल सरकारले आफ्नो अभिन्न अंगका रुपमा लिएर सहयोगका हातहरु अघि बढाउनुपर्ने बताउनुभयो । सरकारले गर्ने काम दातृ निकायले गरिरहेको चर्चा गर्दै आगामी दिनमा स्थानीय, प्रदेश र संघीय सरकारले विशेष योजना बनाएर आँखा अस्पतालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

साधारणसभामा पूर्व संविधानसभा सदस्य वुद्धिराम भण्डारी, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खडका, नेपाल नेत्रज्योति संघका केन्द्रिय कोषाध्यक्ष दोर्ण गुरागाँइ, एमाले दाङका अध्यक्ष हुकम बहादुर बस्नेत, नेपाली कांग्रेसका कृतिबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज खनाल, नेकपा समाजवादीका भूपबहादुर गिरी, पत्रकार दोय सुशील बस्नेत, नारायण खड्का, समाजसेवी ध्रुव गौतम,  लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले अस्पताले प्रदान गरेका सेवाहरुकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे भने  संघका कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा चिकित्सकहरुको तर्फबाट डा. ज्योति सापकोटा, मेडिकलको तर्फबाट सावित्रा केसी, प्रशासकको तर्फबाट किरण पौडेल, जुनियर कर्मचारीको तर्फबाट तुलारामी चौधरी, र सुरज साहुलाई पुरस्कृति तथा सम्मान गरिएको थियो । यसैविच संघको शनिबार हुने अधिवेसनले आगामी वर्षका लागि  नयाँ नेतृत्व चयन गर्ने भएको छ ।।

 

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।