२०८३ कार्तिक ११ गते बुधवार

सल्यानमा काँचो अदुवा विक्रि नभएपछि सुठो र चाना बनाईदै

फाइल फोटो

सल्यान, ९ माघ ।काँचो अदुवा विक्रि नभएपछी सल्यानका किसानले सुठो बनाएका छन् । उत्पादित अदुवा विक्रि नभएपछी तथा विक्रि भएपनि मुल्य नपाएपछी किसानहरुले सूठो बनाउन थालेका हुन् । र स्थानीय व्यापारीहरु पनि अदुवा विक्रि नभएपछी मारमा परेका छन् भने खरिद गरेको अदुवालाई चाना र सुठो बनाउन थालेका छन् ।जिल्लाको बागचौर नगरपालिका स्थित खरिबोटका कृषकहरु पनि काँचो अदुवा विक्रि नभएपछी सुठो बनाउन थालेका छन् । बागचौर २ खरिबोट निवासी कृषक सुरेश ओलीले १० क्विन्टल विउ रोपेकोमा उत्पादन भएको अदुवा विक्रि नभएको भन्दै दुःखेसो पोख्नु भयो ।

उहाले भन्नुभयो, यस वर्ष देखी वृहत रुपमा अदुवा खेति संगै यसको व्यापार गर्ने योजना बनाएको थिएं । भाउ नै नगएपछि निराश भैयो ।’ रुकुमबाट समेत उहाले केही अदुवा किनेर ल्याउनु भएको थियो । तर काँचो अदुवा विक्रि नभएपछि केहीको चाना बनाइरहेको उहाले बताउनुभयो । ९० क्विन्टल जती अदुवालाई सुठो बनाएको जनाउदै उहाले जिल्ला कृषि विकास कार्यालयबाट मेसिन सहयोग प्राप्त भएकाले त्यसैबाट अदुवाको चाना बनाइरहेको जानकारी दिनुभयो ।अदुवालाई मुख्य आयश्रोत बनाएर अदुवा तथा बेसार खेति गर्दै आएका जिल्लाका किसानहरु यस वर्ष अदुवाले मुल्य नपाएपछि चिन्तित बनेका हुन् ।

अदुवाको मुख्य व्यापारी भारतीय व्यापारि भएको र उनीहरुले मुल्य घटाउने गरेका कारण समस्या आएको किसानहरुको बुझाई छ ।किसानले उत्पादन गरेको वस्तु आफ्नै शहर बजारमा खपत हुन नसक्दा अदुवा बजार पटक पटक प्रभावित हुने गरेको स्थानीय व्यापारिहरु बताउँछन् । लामो समय देखि अदुवाको व्यापार गर्दै आएका कपुरकोट २ का व्यापारी प्रेम बहादुर बाँठाले यस वर्ष अदुवाको मुल्य नराम्रोसंग घटेको बताउनुभयो । उहाले भन्नुभयो,गत वर्ष काँचो अदुवा प्रतिकिलो ३६ रुपैयाँ सम्म विक्रि भएको थियो ।

यसपटक २५ रुपैयाँ किलोमा किनेको १५ रुपैयाँ किलोमा पनि विक्रि हुन मुस्किल छ । विक्रि नभएपछि आफ्नो बारीमा उत्पादन भएको तथा किसानबाट खरिद गरेको अदुवालाई सुठो बनाउन थालेको प्रेम बहादुरले बताउनुभयो । यस्तै कपुरकोट ३ का किसान डम्बर बहादुर डाँगीले पनि ५ रोपनिमा खेति गरेको अदुवाले मुल्य नपाएपछि सुठो बनाएको बताउनुभयो ।

भारतले नकिन्दा अदुवा बजार प्रभावित

नेपालमा उत्पादित अदुवा मुख्य रुपमा छिमेकी देश भारतमा निर्यात हुने गरेको र भारतले यहाको अदुवा खरिद नगर्दा बजार प्रभावित हुने गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले यहाको अदुवा भारत जाने र त्यहाँबाट बंगलादेश लगाएतमा देशमा निर्यात हुँदै आएकोमा यस वर्ष भारतले नेपालको अदुवा नलगेको कारण अदुवा बजार प्रत्यक्ष रुपमा प्रभावित भएको हो । जिल्लाका किसानहरुले अदुवाको प्रतिक्विन्टल २१०० पनि मुख्य पाउन सकिरहेका छैनन् । एक दुई वर्ष अदुवाको मुल्य राम्रो जाने र त्यस पछि फेरी मुल्यमा गिरावट आउने विगत देखिकै समस्या हो ।

सूचना अधिकारी वस्नेतका अनुसार भारतले यहाँको अदुवा सस्तो मुल्यमा पाएपछि लग्ने र त्यहाँ कोल्ड स्टोरमा राख्ने गर्दछ । कोल्ड स्टोरमा राखेको अदुवा अर्को एक वर्ष सम्म प्रयोग हुने भएकाले त्यस वर्ष यहाँको अदुवाले मुल्य नपाउने गरेको हो । यस्तै कर्णालीको एक मात्र अर्गानीक अदुवा प्रशोधन उद्योग छिन्चुबाट केही अदुवा विक्रि हुँदै आएकोमा उक्त उद्योगले पनि सस्तोमा अन्यत्रैबाट अदुवा ल्याएपछि सल्यानको अदुवाले मुल्य नपाएको वस्नेतले बताउनुभयो । यसरी अदुवाले मुल्य नपाएपछि गाउँकै व्यापारीले सस्तो मूल्यमा काँचो अदुवा किनेर सुठो बनाउन थालेका छन् । काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म घाममा सुकाएर सुठो बनाइन्छ । करिव तीन चार किलो काँचो अदुवालाई फलेर बोक्रा फालेर सुकाएपछि एक किलो सुठो बन्ने किसानहरु बताउँछन् । सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि विग्रने तथा कुहिने समस्या हुँदैन ।

बोसे अदुवाको लागि विश्वमै प्रख्यात सल्यान माल्टा, ढारखानीको अदुवा भने विक्रिमा खासै समस्या नरहेको कृषि विकास कार्यालयले जनाएको छ । यहाँको अदुवा विउको लागि प्रयोग हुने भएकाले विक्रिमा समस्या छैन । तर जिल्लाका अन्य स्थानमा उत्पादन हुने अदुवा विक्रि नभएपछि किसानहरु चिन्तीत बनेका छन् ।सल्यानमा आर्थिक वर्ष २०७७।०७८ मा करिव १७२० हेक्टर क्षेत्रफलमा अदुवा खेति गरिएको थियो भने जसबाट २५९७२ मे।ट। उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष ०७८।०७९ मा १७५० हेक्टर क्षेत्रफलमा खेति भएको र २९०६१ मे।ट। उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।