काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओली र नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गरेको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्दै विशेष उपहारस्वरुप रुद्राक्षको माला प्रदान गरेका थिए । पशुपतिनाथको मुलुकका सरकार प्रमुख ओलीले काशी विश्वनाथको मुलुकका सरकार प्रमुखलाई भगवान् शिवको प्रिय माला रुद्राक्ष उपहार प्रदान गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि चयन भएका मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबारदेखि नयाँदिल्लीमा थिए । प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम छ ।






