२०८३ मङ्सिर १ गते मङ्गलवार

पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

दाङ,१ कात्तिक ।  नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताको माग गर्दै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुभएको हो। महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याउनेमाथि हालसम्म कुनै कारबाही नभएको भन्दै आपत्ति जनाएको छ।

त्यस्तै, गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भइरहेको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको प्रमुख कारणका रूपमा उल्लेख गरेको छ। वर्तमान अवस्थामा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको महासंघको आरोप छ। प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारमाथि भइरहेको हस्तक्षेप रोक्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको महासंघले जनाएको छ।

महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ। यस्तै, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ। त्यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ भने मंसिर ७ गते देशभरका जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन्।

आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले मंसिर ९ गते देशभरका जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भेला भई ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गर्ने महासंघले जनाएको छ। महासंघले घोषित आन्दोलनका कार्यक्रममार्फत सरकारलाई आफ्ना मागप्रति गम्भीर हुन आग्रह गर्दै माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।