२०८३ कार्तिक २९ गते आइतवार

छठ मनाउन घर फर्किएकाहरू लखन्देही किनारमा अस्ताए, एउटै गाउँमा १२ शवको सामूहिक अन्त्येष्टि

फोटो फाईल

सर्लाही२८ कार्तिक।  छठ मनाउन काठमाडौं छाडेर गाउँ फर्किएका उनीहरूलाई के थाहा, घर पुग्नुअघि नै जीवनको यात्रा टुंगिनेछ भनेर। परिवारसँग पर्व मनाउने सपना बोकेर हिँडेका उनीहरू अन्ततः घर त पुगे, तर जीवित होइन, बाकसमा बन्द भएर। शुक्रबार राति लखन्देही नदी किनारमा एउटै गाउँका १२ जनाको चिता एकैसाथ बल्दा सुन्दरपुरको खुसी, उमंग र उत्सव सबै खरानीमा परिणत भयो।

छठपर्व मनाउन काठमाडौंमा रहेका आफन्तसहित सर्लाही फर्किंदै गरेको विद्युतीय गाडी (ईभी) बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटनाग्रस्त हुँदा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १४ जनाले ज्यान गुमाएका थिए। दुर्घटनामा ६ जना घाइते भएका छन्।मृतकमध्ये १२ जनाको शुक्रबार राति अबेरसम्म लखन्देही नदी किनारमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरियो। चालक रविशंकर मण्डलको शव उनको गाउँ कबिलासी लगिएको थियो भने रामप्रवेश यादवको शव परिवारका सदस्यको बसोबास रहेको सदरमुकाम मलंगवा लगिएको थियो।एउटै गाउँका १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि सुन्दरपुरमा सन्नाटा छाएको छ। छठको तयारीमा जुट्नुपर्ने गाउँमा अहिले चित्कार, आँसु र शोक मात्रै छ। घरघरमा पर्वको तयारी हुनुपर्ने बेला धेरै घरका आँगनमा मृत्युको खबरले अँध्यारो छाएको छ।

एउटै परिवारका ६ सदस्य गुमाउँदाको असह्य पीडा

दुर्घटनाको सबैभन्दा हृदयविदारक कथा अवधेश यादवको परिवारसँग जोडिएको छ। उनले गर्भवती श्रीमती पुनमसहित परिवारका ६ सदस्य गुमाएका छन्। आठ महिनाकी गर्भवती पुनमसँगै तीन छोरी र दुई छोरा गुमाएका अवधेशका लागि अब छठको खुसी मात्र होइन, जीवनकै आधार भत्किएको छ।अन्तिम संस्कारका बेला आफ्नै परिवारका सदस्यलाई दागबत्ती दिनुपर्ने जिम्मेवारी उनको काँधमा आइपरेको थियो। तर एकपछि अर्को प्रियजनलाई चितामा सुम्पिनुपर्ने पीडाले उनी पटकपटक भक्कानिए। सम्हालिन खोज्थे, फेरि आँसुको भेलमा डुब्थे।

आठ महिनाको गर्भ बोकेकी पुनमसँगै गर्भमा रहेको शिशुको भविष्य पनि दुर्घटनासँगै समाप्त भयो। जन्मिनुअघि नै संसारबाट बिदा भएको शिशुलाई समेत नजिकै गाडिएको थियो। एकैपटक परिवारका ६ सदस्य गुमाएका अवधेशको पीडा लखन्देही किनारमा उपस्थित कसैले पनि शब्दमा व्यक्त गर्न सकेनन्।अवधेशकी आमा निर्मला देवी यादवको अवस्था पनि उस्तै कारुणिक थियो। बुहारी पुनम, तीन नातिनी र दुई नाति गरी परिवारका ६ सदस्य गुमाएपछि उनी शोकले बेहोस भइन्। स्वास्थ्य अवस्था असहज भएपछि उनलाई स्लाइन चढाएर उपचार गर्नुपरेको थियो।

एम्बुलेन्सबाट शव निकाल्दा भक्कानियो सुन्दरपुर

हेटौंडा अस्पतालमा पोस्टमार्टमपछि शुक्रबार राति मृतकका शव तीनवटा एम्बुलेन्समा राखेर सुन्दरपुर ल्याइएको थियो। तर शव गाउँ पुर्‍याउने क्रम सहज थिएन। एकैपटक धेरै आफन्त गुमाएका परिवारका सदस्यले शव देख्नासाथ आफूलाई सम्हाल्न नसक्ने अवस्था देखिएपछि मधेश प्रदेशका पूर्वसांसद सञ्जय यादवले अन्त्येष्टि स्थलनजिकै एम्बुलेन्स रोक्न लगाएका थिए।त्यसपछि शोकाकुल परिवारका सदस्यलाई अर्को सवारीमा राखेर शवको अन्तिम दर्शन र बिदाइको व्यवस्था मिलाइयो।

एम्बुलेन्सबाट शव निकाल्नासाथ आफन्तहरूको रुवाबासी सुरु भयो। कोही शवमाथि घोप्टिएर रोए, कोही बेहोस भएर ढले। आफन्तलाई सम्हाल्न स्थानीयलाई समेत कठिन भयो। अन्तिमपटक आफ्ना प्रियजनको अनुहार हेर्न नदी किनार पुगेका परिवारका सदस्यको चित्कारले वातावरण स्तब्ध बनाएको थियो।

राति अबेरसम्म चलेको अन्त्येष्टिमा सुन्दरपुरसहित आसपासका पाँच गाउँका ठूलो संख्यामा स्थानीय सहभागी भएका थिए। एकपछि अर्को चितामा शव राखिँदै गर्दा उपस्थित मानिसहरूका आँखामा आँसु थामिएका थिएनन्। कसैसँग पीडित परिवारलाई सान्त्वना दिने शब्द थिएनन्, कसैसँग उनीहरूको दुःख कम गर्ने सामर्थ्य।

पर्वको खुसी खोसियो, गाउँ नै शोकमा

छठ तराई–मधेशका परिवारका लागि धार्मिक आस्थाको पर्व मात्र होइन, टाढिएका आफन्तसँग भेटघाट गर्ने, परिवारसँग समय बिताउने र खुसी साटासाट गर्ने अवसर पनि हो। यही खुसी बोकेर घर फर्किएकाहरूको मृत्युले सुन्दरपुरका धेरै परिवारलाई एकैपटक शोकमा डुबाएको छ।घटनाको खबर पाउनासाथ हेटौंडा पुगेका चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले एउटै गाउँका धेरै परिवारमा एकैपटक परेको विपत्तिले सबैलाई असहाय बनाएको बताए।

‘छठ तराई–मधेशका परिवारका लागि केवल पर्व होइन, घरपरिवार र आफन्तजनसँग भेटघाट गर्ने, सँगै बसेर खुसी साट्ने अवसर पनि हो,’ उनले भने, ‘यही पर्व मनाउन घर फर्किएकाहरूको असामयिक मृत्युले सुन्दरपुरका परिवारको खुसी खोसेको छ।’छठको स्वागतका लागि सजिनुपर्ने घरहरू अहिले शोकमा डुबेका छन्। घाटमा अर्घ्य दिनुपर्ने हातहरूले आफ्नै प्रियजनको चितामा दागबत्ती दिनुपर्‍यो। परिवारसँग बसेर पर्व मनाउने सपना बोकेर हिँडेका उनीहरूको जीवनयात्रा चिसापानीगढीमै टुंगियो।

शुक्रबार राति लखन्देही नदी किनारमा बलिरहेका चिताहरूले एउटै गाउँका अनेक परिवारको उजाडिएको संसारको कथा सुनाइरहेका थिए। सुन्दरपुरमा यसपालिको छठको उज्यालोभन्दा धेरै गहिरो अँध्यारो छाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।