२०८३ कार्तिक १९ गते बिहिवार

पत्रकारिता र उद्यमशीलतालाई सँगसँगै अघि बढाउँदै निता चौधरी

तुलसीपुर, १९ कात्तिक । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार निता चौधरीले तुलसीपुरमा बुटिक एण्ड टेलरिङ सेन्टर सञ्चालनमा ल्याउनुभएको छ । पत्रकारितासँगै उद्यमशीलतालाई पनि अघि बढाउने उद्देश्यका साथ उहाँले करिब ७ लाख रुपैयाँको लगानीमा बुटिक व्यवसाय सुरु गर्नुभएको हो ।

सञ्चालनमा आएको बुटिक एण्ड टेलरिङ सेन्टरमा महिलाका विभिन्न प्रकारका कपडा सिलाउनुका साथै सुपथ मूल्यमा तयारी तथा अन्य कपडासमेत बिक्री वितरण गरिने सञ्चालक चौधरीले जानकारी दिनुभयो ।

रेडियो प्रकृति एफएमलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध रहेर पत्रकारितामा सक्रिय चौधरीले आफ्नो पेशागत जिम्मेवारीसँगै व्यवसायलाई पनि निरन्तरता दिने बताउनुभयो । पत्रकारिताबाट समाजसँग जोडिँदै आएकी उहाँले अब उद्यमशीलतामार्फत आर्थिक आत्मनिर्भरता र व्यावसायिक पहिचानसमेत निर्माण गर्ने लक्ष्य राख्नुभएको छ ।

व्यवसायलाई सफलतापूर्वक अघि बढाउन सबैको साथ, सहयोग र हौसलाको आवश्यकता रहेको उहाँको भनाइ छ । स्थानीयस्तरमै गुणस्तरीय सेवा प्रदान गर्दै ग्राहकको विश्वास जित्ने प्रयास रहने चौधरीले बताउनुभयो ।

बुटिक एण्ड टेलरिङ सेन्टरको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज राजभण्डारी, कार्यपालिका सदस्य एमुना परियार र बुटिक प्रशिक्षक रविना चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन यूट्यूबर श्रीनारायण चौधरीले गर्नुभएको थियो ।

पत्रकारिताको अनुभवलाई उद्यमशीलतासँग जोड्दै नयाँ व्यावसायिक यात्रा सुरु गर्नुभएकी चौधरीको यो प्रयासले महिलालाई आत्मनिर्भर बन्न र आफ्नै व्यवसाय सञ्चालन गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।