तुलसीपुर, ११ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका ७ बेत्रावतीमा सञ्चालित स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका अधिकांशमा उच्च रक्तचाप प्रेसर को समस्या देखिएको छ। स्थानीय विपन्न नागरिकलाई लक्षित गरी बुधबार आयोजना गरिएको शिविरमा १०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन्।
शिविरमा सहभागीहरूको मधुमेह सुगर र रक्तचाप परीक्षण गरिएको थियो। पाल्पाली पोलिक्लिनिकका सञ्चालक सुरज ज्ञवालीका अनुसार परीक्षण गराएकामध्ये अधिकांशमा रक्तचापको समस्या पाइएको हो। समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र आर्थिक रूपमा कमजोर नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षणको अवसर प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
पाल्पाली पोलिक्लिनिक तुलसीपुर र जयजीव अभियानको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो। जयजीव अभियानका द्रष्टा उपेन्द्र पौडेलले स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य सेवाको पहुँच कम भएका तथा विकट बस्तीका नागरिकलाई लक्षित गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।
स्थानीयस्तरमै स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध हुँदा नागरिकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज हुने र समयमै स्वास्थ्य समस्याको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।