सल्यान १५ भदौ । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेका सल्यानका २१ वर्षीय आयुष खड्काको अधिकृत बन्ने सपना अधुरै रह्यो। पहिलोपटक सरकारी सेवाको जिम्मेवारी सम्हाल्न रसुवाको टिमुरे पुगेका आयुष विनाशकारी बाढीमा परी ज्यान गुमाएपछि सोमबार देवघाटमा अन्त्येष्टि गरिएको छ। बागचौर नगरपालिका–१० पिपलनेटा निवासी आयुष गत वैशाखमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा पहिलो पोष्टिङ भएका थिए।
सेवा प्रवेश गरेको करिब पाँच महिनामै भदौ १० गते आएको भीषण बाढीले उनको जीवन नै खोस्यो। बाढीमा बेपत्ता भएका आयुषको शव पाँच दिनपछि भेटिएको थियो। शव बिग्रिँदै गएको र गृहजिल्ला सल्यानसम्म लैजान कठिन भएपछि परिवारले चितवन र तनहुँको संगमस्थल देवघाटमै अन्त्येष्टि गर्ने निर्णय गरेको आयुषका काका रमेश खड्काले बताए। आयुषको परिवारका अनुसार उनी जागिरसँगै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै भविष्यमा अधिकृत बन्ने तयारीमा थिए।
पढाइमा निकै रुचि राख्ने आयुषले खरिदारको पदमा सीमित नहुने र सिधै अधिकृत बन्ने लक्ष्य सुनाउने गरेको काका रमेश सम्झन्छन्। ‘पढ्नमा साह्रै रुचि राख्थ्यो। खरिदार हुँदिनँ, म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ रमेशले भने, ‘रसुवाको पोष्टिङमा खासै रुचि थिएन। तर नाम निस्किसकेको थियो, काम गर्दै पढ्नुपर्छ भनेर परिवारले सम्झाएपछि ऊ रसुवा गएको थियो।’ आयुष स्नातक तहको परीक्षा दिने तयारीमा थिए।
भदौ १२ गते काठमाडौँ आउने र त्यसपछि भदौ १६ गते गृहजिल्ला पुगेर परीक्षा दिने उनको योजना थियो। तर, घर फर्किने तयारीकै बीच भदौ १० गते बिहान आएको बाढीले उनको जीवनको यात्रा अकस्मात् रोकिदियो। खड्का परिवारका जेठा छोरा आयुषको मृत्युको खबरले परिवारमा गहिरो शोक छाएको छ। बुवा, आमा र बहिनी रहेको उनको परिवार अहिले असह्य पीडामा छ। छोराको बाढीमा परेको खबर सुनेपछि आमा मुना बेहोस भएकी थिइन्।
सोमबार देवघाटमा छोराको अन्तिम संस्कार भइरहँदा पनि उनी सम्हालिन सकेकी थिइनन्। बहिनी आयुषासमेत अर्धमूर्छित अवस्थामा थिइन्। अन्त्येष्टिमा सहभागी आफन्तहरूले आमा र बहिनीलाई सम्हाल्दै अन्तिम संस्कारको पीडादायी क्षण सामना गराएका थिए। सरकारी सेवामा प्रवेशसँगै नयाँ जीवनको सुरुवात गरेका आयुषका लागि टिमुरेको पहिलो पोष्टिङ नै अन्तिम गन्तव्य बन्यो। अधिकृत बन्ने सपना बोकेर अघि बढेका एक होनहार युवाको यात्रा भने देवघाटको चितामा पुगेर टुंगिएको छ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।