काठमाडौँ ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई राहत उपलब्ध गराउन नेपाली सेनामार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।नेपाली सेनाका आठ वटा ट्रकमार्फत हिजो राति राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
बाढीका कारण प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्नबाहेकका राहत तथा अत्यावश्यक सामग्रीलाई प्राथमिकतामा राखेर पठाइएको सेनाले जनाएको छ।प्रभावित क्षेत्रमा पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, बालबालिकाका लागि एक हजार थान डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल लगायत रहेका छन्।
त्यस्तै, विद्युत् तथा सञ्चारलगायतका आधारभूत सेवा प्रभावित भएको अवस्थामा उपयोगी हुने ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट तथा ३० केभीए क्षमताको एक थान जेनेरेटर समेत प्रभावित क्षेत्रमा पठाइएको छ।
अचानक आएको बाढीका कारण रसुवाको भोटेकोशी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्को यो कठिन अवस्थामा प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासलाई तीव्र पारिएको छ।
नेपाली सेनासहित सुरक्षा निकाय तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन्। बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई आवश्यक राहत सामग्री उपलब्ध गराउँदै जोखिममा रहेका नागरिकको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणलाई समेत प्राथमिकता दिइएको छ।





