तुलसीपुर, १० भदौ । पत्रकार आशिष केसीलाई अमेरिकामा बस्दै आएका एक युवकले ज्यान मार्ने धम्की दिएका छन । दाङको तुलसीपुरमा केहि समय अघि भएको बलात्कार घटनाको समाचारको विषयलाई लिएर तुलसीपुर उपमहानगरपालिका–७ मनियाडाँडा घर भई हाल अमेरिका बस्दै आउनुभएका यादव केसीले फेसबुक म्यासेन्जरमार्फत धम्कीपूर्ण भ्वाइस म्यासेज पठाएको पत्रकार केसीले बताउनुभयो ।
यादवले अडियो कल गर्न खोज्नुका साथै पटक–पटक म्यासेन्जरमा गालीगलौजसहित धम्कीपूर्ण सन्देश पठाएको पत्रकार केसीले बताउनुभयो । धम्कीमा आफूलाई नेपाल आएको अवस्थामा जहाँ भेट्यो त्यहीँ ज्यान मार्ने चेतावनीसमेत दिइएको पत्रकार केसीको भनाइ छ ।
‘बलात्कार आरोपी डिआर भण्डारीको बारेमा समाचार किन नलेखेको… तलाई पतन गराउन खरानीको टीका लगाउन सकिन्छ । यदि नेपालमा आएभने जुनसुकै बेला पनि तलाई जहाँ भेट्यो त्यहीँ घाँटी निमोठेर मार्छु,’ धम्कीपूर्ण भ्वाइस म्यासेजमा भनिएको छ । यादवले भण्डारीको विषयमा समाचार लेख्न पटक पटक दबाब दिएको केसीले बताउनुभयो । यादवले भने अनुसार समाचार नलेखेपछि आफूलाई ज्यान मार्ने धम्की आएको पत्रकार केसीले बताउनुभयो ।
अडियो कल नउठाएपछि यादवले फेसबुक म्यासेन्जरमा सुन्नसमेत कठिन हुने गरी दर्जनौँ गालीगलौज र धम्कीपूर्ण भ्वाइस म्यासेज पठाएको केसीले बताउनुभयो । घटनापछि आफू मानसिक रूपमा त्रसित र अत्यन्तै दुःखी भएको पत्रकार केसीले बताउनुभयो । ‘यस्तो धम्की व्यक्तिगत सुरक्षामाथिको मात्रै होइन, स्वतन्त्र पत्रकारितामाथिकै गम्भीर प्रहार हो,’ उहाँले भन्नुभयो । धम्कीपूर्ण भ्वाइस म्यासेज, कल रेकर्डलगायत आवश्यक प्रमाणसहित पत्रकार केसीले दोषीमाथि कारबाहीको मागसहित इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिनुभएको छ ।
पत्रकारमाथि खुलेआम ज्यान मार्ने धम्की आएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा गम्भीर प्रश्नमा परेको भन्दै स्थानीय प्रशासन, नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध संघसंस्थाले तत्काल चासो दिनुपर्ने पत्रकार केसीको माग छ । पत्रकार केसी ‘लुम्बिनी सेरोफेरो’ मिडियाका सञ्चालक तथा सम्पादक हुनुहुन्छ ।





