दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ। सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, दुष्प्रचार तथा उत्तेजनात्मक सामग्रीमाथि प्रभावकारी निगरानी बढाउन उहाँले विशेष जोड दिनुभएको हो।
शनिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको लुम्बिनी प्रदेश सुरक्षा समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पछिल्ला राष्ट्रिय घटनाक्रमलाई मध्यनजर गर्दै प्रदेशको शान्ति सुरक्षामा असर पार्न सक्ने कुनै पनि गतिविधिलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो। उहाँले चारवटै सुरक्षा निकाय उच्च मनोबलका साथ परिचालित रहेको उल्लेख गर्दै आपसी समन्वय र सूचनाको आदानप्रदानलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखसँगै बाँके, कपिलवस्तु, बर्दिया, रुपन्देही र नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत सुरक्षा अवस्था, सामाजिक सद्भावसँग सम्बन्धित विषय तथा सम्भावित जोखिमबारे जानकारी गराएका थिए।
बैठकले पूर्वी तथा मध्य तराईका केही जिल्लामा धार्मिक सद्भाव प्रभावित हुने गरी भएका पछिल्ला घटनाको असर लुम्बिनी प्रदेशमा पर्न नदिन सुरक्षा सतर्कता थप कडा बनाउने निर्णय गरेको छ।
त्यसैगरी राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा जातीय समुदाय, नागरिक अगुवा, धर्मगुरु, सञ्चारमाध्यम र सर्वसाधारणलाई सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र आपसी एकता कायम राख्न सहयोग गर्न अपिल गर्ने निर्णय पनि गरिएको छ।
संवेदनशील क्षेत्रमा स्थानीय तह र प्रशासनको समन्वयमा संवाद, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकार र सुरक्षा निकायबीच तत्काल सूचना आदानप्रदानका लागि प्रादेशिक एकीकृत सूचना सञ्जाल निर्माण गर्ने निर्णय बैठकले गरेको छ। साथै टिकटक, फेसबुक, युट्युब, ह्वाट्सएप र टेलिग्रामलगायत सामाजिक सञ्जालमार्फत अफवाह, भ्रामक सूचना तथा सामाजिक, धार्मिक र जातीय सद्भाव भड्काउने सामग्री प्रसारण नगर्न र आधिकारिक तथा सत्यतथ्य सूचनामात्र साझा गर्न सबैमा आग्रह गरिएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।