दाङ २ भदौ । दाङको राप्ती गाउँपालिका–६ चौबाटो बजारका महिलाहरू अहिले फुर्सदको समयलाई आयआर्जनसँग जोड्दै दुना–टपरी उत्पादनमा व्यस्त छन् । महिलाहरूलाई समूहमा आबद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको लक्ष्मी दुना टपरी उद्योग अहिले स्थानीय महिलाहरूको रोजगारी र आम्दानीको माध्यम बन्दै गएको छ । युएन हेविटर र गुड निभर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले उद्योग सञ्चालनमा ल्याएको हो ।
कुल १ लाख ७० हजार रुपैयाँको लगानीमा स्थापना भएको उद्योगमा गुड निभर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको १ लाख २० हजार रुपैयाँ र उद्योगको ५० हजार रुपैयाँ लगानी रहेको छ । उद्योगमा हाल १० जना महिला आबद्ध छन् । घरायसी काम सकेपछि फुर्सदको समय सदुपयोग गर्दै उनीहरू सामूहिक रूपमा दुना–टपरी बनाउने काममा सक्रिय छन् । उद्योग स्थापना भएपछि महिलाहरूलाई घरमै सीमित भएर बस्नुपर्ने अवस्थाबाट बाहिर निस्केर सीप र श्रमलाई आयआर्जनमा जोड्ने अवसर मिलेको छ ।
स्थानीयस्तरमा खेर गइरहेका सालका पातलगायत प्राकृतिक सामग्रीको प्रयोग गरी उत्पादन गरिने दुना–टपरी वातावरणमैत्री हुनुका साथै धार्मिक तथा सामाजिक कार्यमा समेत व्यापक रूपमा प्रयोग हुने गरेको छ । पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउँदै प्राकृतिक सामग्रीबाट बनेका वस्तुको प्रयोग बढ्न थालेपछि दुना–टपरीको माग पनि बढ्दै गएको उद्योगमा आबद्ध महिलाहरू बताउँछन् । उद्योगले उत्पादन गरेका दुना–टपरी विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् । उत्पादनको आकार र प्रकारअनुसार १०० पिसको प्याकेट १५०, ३५० र ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । स्थानीय बजारसँगै बाहिरी जिल्लाबाट समेत माग आउन थालेपछि महिलाहरूलाई उत्पादन बढाउन थप उत्साह मिलेको छ ।
उद्योगलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन मंगलबार एक कार्यक्रमबीच दुना–टपरी बनाउने मेसिनसमेत हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी र सीएसआरसीअन्तर्गत जलवायुमैत्री कृषि संयोजक निलम त्रिपाठीले संयुक्त रूपमा उद्योगकी अध्यक्ष सरस्वती चौधरीलाई मेसिन हस्तान्तरण गरेका हुन् । मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका उपाध्यक्ष चौधरीले सानो लगानीबाट सुरु गरिएको व्यवसायलाई निरन्तरता दिन सके त्यसले राम्रो परिणाम दिने बताइन् । उनले व्यवसाय सुरु गर्दा केही जोखिम मोल्नुपर्ने भए पनि मेहनत, धैर्य र लगनशीलताका साथ काम गरे सफल हुन सकिने धारणा राखिन् ।
“सानो लगानीबाट सुरु गरिएको व्यवसाय पनि विस्तारै ठूलो बन्न सक्छ । त्यसका लागि व्यवसायीले जोखिम मोल्न सक्नुपर्छ र सुरुवाती कठिनाइलाई सहन सक्नुपर्छ,” उनले भनिन् । महिलाहरूलाई सीपसँग जोडेर उद्यमशील बनाउने अभियानलाई स्थानीय सरकारले समेत आवश्यक सहयोग र सहजीकरण गर्ने उनले बताइन् । राप्ती गाउँपालिका–६ का वडा अध्यक्ष दीपककुमार चौधरीले घरमा फुर्सदमा बसिरहेका महिलाहरूलाई तालिम प्रदान गरी उद्योगमा आबद्ध गर्न सफल भएको बताए । महिलाहरूलाई समूहमा आबद्ध गराई सामूहिक रूपमा उत्पादन र बजारीकरणमा जोड्न सके उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने उनको भनाइ थियो ।
दुना–टपरी स्वास्थ्य, वातावरणीय र धार्मिक दृष्टिकोणले समेत उपयोगी भएकाले यसको महत्त्व पछिल्लो समय बढ्दै गएको वडा अध्यक्ष चौधरीले बताए । प्लास्टिकका सामग्रीको प्रयोगबाट वातावरणमा पर्ने असरलाई कम गर्न प्राकृतिक सामग्रीबाट बनेका दुना–टपरीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनले जोड दिए । उनका अनुसार स्थानीय महिलालाई घरायसी कामसँगै आयआर्जनमा जोड्ने यस्ता कार्यक्रमले महिलाको आर्थिक अवस्था सुधार गर्नुका साथै परिवारको आर्थिक सशक्तीकरणमा समेत योगदान पु¥याउनेछ । दुना–टपरी उद्योग सञ्चालनमा आएपछि महिलाहरूको दैनिक जीवनशैलीमा समेत परिवर्तन आएको छ । घरधन्दा र पारिवारिक जिम्मेवारीसँगै उनीहरूले आफ्नै समूहमा बसेर उत्पादन गर्ने र बिक्रीबाट आम्दानी गर्ने अवसर पाएका छन् । उद्योगले महिलाहरूलाई व्यस्त मात्रै बनाएको छैन, सामूहिक काम गर्ने वातावरण र आत्मनिर्भर बन्ने आत्मविश्वास समेत बढाएको छ ।
यसैबीच राप्ती गाउँपालिका–३ बसन्तपुरमा गठित स्वीजरल्यान्ड भूमि अधिकार मञ्चलाई कुटानी–पिसानी सानो मिल हस्तान्तरण तथा उद्घाटन गरिएको छ । युएन हेविटर र गुड निभर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको ४० हजार रुपैयाँ लगानीमा स्थापना गरिएको कुटानी–पिसानी मिललाई राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मञ्चकी उपाध्यक्ष जलावली चौधरीलाई हस्तान्तरण गर्दै उद्घाटन गरेकी हुन् ।
मिल सञ्चालनमा आएपछि समूहमा आबद्ध ४५ जना महिला प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । स्थानीयस्तरमै कुटानी–पिसानीको सुविधा उपलब्ध भएपछि महिलाहरूलाई टाढा गएर खाद्यान्न पिसाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । दुवै कार्यक्रमको सञ्चालन सीएसआरसीअन्तर्गत जलवायुमैत्री कृषि संयोजक निलम त्रिपाठीले गरेकी थिइन् ।





