२०८३ भाद्र ३ गते बुधवार

वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारले लिए श्रम स्वीकृति

काठमाडौ,३ भदौं । वैदेशिक रोजगारीमा जान चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् ।वैदेशिक  रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ जना पुरुष र नौ हजार ९६९ जना महिला छन् । उनीहरूले २०८३ साउन १ गतेदेखि ३१ गतेसम्मको अवधिमा ११४ देशमा वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका हुन् । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान ६८ हजार ११० जनाले श्रम स्वीकृति लिएका थिए । २०८२ साउनमा नौ हजार १६२ महिला र ५८ हजार ९४८ जना पुरुषले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

२०८३ साउनमा वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी श्रम स्वीकृति क्रमशः युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, रोमानिया, जापान, ओमान, पोर्चुगल र टर्की जान लिएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार साउन महिनामा १८ हजार ७८४ जनाले यूएई, १२ हजार ४९८ जनाले मलेसिया, १० हजार ३६० जनाले कतार, आठ हजार ६१३ जनाले साउदी अरेबिया, चार हजार ५६७ जनाले कुवेत, दुई हजार ९०८ जनाले रोमानिया, एक हजार २४४ जनाले जापान, एक हजार १७९ जनाले ओमान, एक हजार १७९ जनाले पोर्चुगल र एक हजार २१ जनाले टर्की जान श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया