प्रतिनिधिसभा विघटन भएसँगै फागुन २१ गते चुनाव गर्ने घोषणा

काठमाण्डौ, २८ भदौ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएको छ । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आउँदो फागुन २१ गते बिहीबारका दिन चुनावको मिति घोषणा गर्नुभएको छ ।

राष्ट्रपतिले गएराति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गर्नुभएको हो । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबीच कार्की देशकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहीत राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया