२०८३ कार्तिक ९ गते आइतवार

अमेरिकासँग सम्झौता गर्ने मुलुकका विरुद्ध बदला लिने चीनको चेतावनी

बीबीसी, ९ बैशाख । बेइजिङको स्वार्थमा धक्का पुग्ने गरी अमेरिकासँग सम्झौता गर्ने मुलुकहरूविरुद्ध बदला लिने चीनले चेतावनी दिएको छ । चीनसँगको व्यापार सीमित पारेमा आफूले ती मुलुकलाई ट्यारिफमा केही छूट दिने योजना अमेरिकाले बनाइरहेका विवरणका माझ चीनको उक्त टिप्पणी आएको हो । यसले विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्रबीच चर्किएको व्यापार युद्धमा अन्य मुलुकहरू पनि तानिने खतरा बढाएको छ ।

ट्यारिफको विषयमा ट्रम्प प्रशासनले उसका व्यापारिक साझेदारहरूसँग वार्ता थालेको छ । वाशिङ्टन भ्रमणमा आएको जापानी प्रतिनिधिमण्डलसँग गत साता वार्ता भएको थियो भने दक्षिण कोरियासँगको वार्ता यसै साता सुरु हुँदै छ । ज्यानुअरीमा ह्वाइट हाउसमा फर्किएयता ट्रम्पले चीनविरुद्ध चर्को ट्यारिफ लगाइसकेका छन् भने अन्य देशविरुद्ध पनि आयात शुल्कहरू बढाइएका छन् । ट्यारिफ घोषणापश्चात् ७० भन्दा धेरै देशहरूले अमेरिकासँग व्यापार वार्ता थाल्न खोजिरहेको ट्रम्पले भनेका छन । यस अवस्थामा अरू देशहरू अप्ठेरोमा परेको देखिएको छ ।

ट्रम्पद्वारा ट्यारिफको प्रशंसा अमेरिकी राष्ट्रपतिले आयात गरिएका वस्तुहरूमा लगाइने शुल्कका कारण अमेरिकी उपभोक्ताहरू अमेरिकामै बनेका वस्तु किन्न प्रेरित हुने, सरकारले कर धेरै उठाउन पाउने तथा देशभित्रै ठूल्ठूला लगानी हुने बताएका छन । तर आलोचकहरूले चाहिँ अमेरिकामा उत्पादनमूलक उद्योगहरू भित्र्याउने काम जटिल भएको बताएका छन्। त्यसका लागि दशकौँ लाग्न सक्ने र त्यतिन्जेल अर्थतन्त्रले चुनौती बेहोर्ने उनीहरू बताउँछन्।

आफ्नै केही घोषणाहरू ट्रम्पले फिर्ता पनि लिएका छन् ।

यो महिनाको आरम्भमा अमेरिकाका दर्जनौँ व्यापारिक साझेदार देशहरूमाथि थोपरिएको चर्को ट्यारिफ लागु भएको केही घण्टापछि नै उनले फिर्ता लिए। बजारले देखाएको प्रतिक्रिया अनि राजनीतिज्ञहरूबाट भएका विरोधका माझ उनले चीनबाहेक बाँकी देशको हकमा चर्को ट्यारिफ लागु गर्ने कामलाई ९० दिन स्थगन गरेका छन् ।

चीनबाट हुने आयातमा उनले १४५% सम्म ट्यारिफ लगाइदिएका छन्। अरू देशलाई भने जुलाईसम्मका लागि उनले १०% ट्यारिफ लगाएका छन् । विद्यमान ट्यारिफहरूका अतिरिक्त नयाँ ट्यारिफ लाग्ने हुँदा कतिपय चिनियाँ सामानमा २४५% सम्म ट्यारिफ लाग्ने उनको प्रशासनले गत साता जानकारी दिएको थियो ।

जबाफमा चीनले अमेरिकी वस्तुहरूमाथि १२५% ट्यारिफ लगाइदिएको छ र उसले ’आखिरीसम्म लड्ने’ भनेको छ । विश्वका दुई आर्थिक महाशक्तिबीचको व्यापार युद्धले यो महिनाको सुरुमा विश्वव्यापी वित्तीय बजारहरूमा कम्पन ल्याएको थियो ।

ट्यारिफ भनेको के हो ? ट्यारिफ भनेको सरकारले आयात वा निर्यात हुने वस्तु वा सेवाहरूमाथि लगाउने कर वा शुल्क हो। यो व्यापार नियमन, स्वदेशी उद्योग संरक्षण वा राजस्व संकलनका लागि प्रयोग गरिन्छ। ट्यारिफले सामानको मूल्य बढाउन सक्छ र बजार प्रतिस्पर्धालाई प्रभावित गर्छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।