२०८३ भाद्र १० गते बुधवार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तुलसीपुरमा सुरु 

खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौं : मुख्यमन्त्री आचार्य

तुलसीपुर, १५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्‌घाटन गर्नु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा अमर माध्यमिक विद्यालय उरहरीको व्यवस्थापनमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री आचार्यले मङ्गलबार उद्‌घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

‘प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ । खेलका विविध विधाहरु छन् । ति विधाहरुलाई समान रुपमा प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरूमा जोड दिएको छ’ उहाँले भन्नुभयो,‘खेल क्षेत्रबाटै देशको नाम चिनाउन सकिएको छ । खेलाडीहरूको आकर्षण बढ्दो छ । सरकारले यो आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरालाई प्राथमिकतामा राखेको छ भने खेलाडीहरूको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार पारेको छ ।’

मुख्यमन्त्री आचार्यले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकता भित्र पर्ने उल्लेख गर्नु भयो । उहाँले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवर्द्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको उद्‌घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रेखा शर्मा, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरी, तुलसीपुर उपमहानगरपालिका पूर्व मेयर घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले बोल्नु भएको थियो ।
तु
लसीपुर उपमहानगरपालिका –११ का वडा अध्यक्ष मानबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपमेयर स्यानी चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले गर्नुभएको थियो ।  नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४३ वटा विद्यालयका १३ सय ६० जना खेलाडी सहभागी भएका छन् ।  प्रतियोगिता अवधिभर भलिबल, कपर्दी, दौड, कराँते, हाइजम्प, जमजम, सटफुट लगायतका खेलहरू हुनेछन् ।

रनिङ शिल्डको उद्‌घाटन हुनुपूर्व नेपाल प्रहरी, नेपाल स्काउट सहित विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्चपास गरेका थिए । सो अवसरमा विभिन्न जातजाति, भेषभुषा झल्किने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको  कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ दाङका सहसचिव वसन्त परियारले जानकारी दिनुभयो ।  

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया