२०८३ कार्तिक ११ गते मङ्गलवार

थारु समुदायको महान पर्व माघ आजदेखि सुरु

तुलसीपुर,२९ पुष । थारु समुदायको महान पर्व माघ आजदेखि सुरु भएको छ । माघ १ गते भोली भएपनि आज अर्थात पुष महिनाको अन्तिम दिनदेखि नै माघ पर्व सुरु हुने गर्दछ । भोली माघी मान्ने र नयाँ वर्षलाई स्वागत गर्नका लागि सबै तयारी आजै गर्ने गरिन्छ ् । आज ढिक्री पकाउने, माछा मार्ने, मासुको जोहो गर्ने काम थारु समुदायमा हुन्छ ।

थारु समुदायमा माघीमा विशेष गरी सुँगुर बँगुरको मासुलाई प्रामिकता दिइने हुनाले प्रत्येक थारु गाउँमा आज सुँगुर बँगुर मार्ने चलन रहेको छ भने माछा पनि आजै मार्ने गरिन्छ । थारु समुदायमा यो पर्वलाई विशेष गरी ५ दिनसम्म आफ्नै परम्परा अनुसार धुमधामका साथ मनाइन्छ । उनीहरुले महान चाड माघीलाई एउटा पर्व मात्र नभई नयाँ वर्ष, योजना निर्माण गर्ने दिन, बर्षभरिको समीक्षा, मुक्ति दिवसको रुपमा समेत मनाउने गर्दछन् ।

यसैविच दाङ लगायत पश्चिम नेपाल बाँके, बर्दिया,कैलाली, कञ्चनपुर, सुर्खेत लगायतका थारु बस्तीमा माघको रौनक बढेको छ । थारु समुदायमा नयाँ वर्षको रुपमा यो पर्व मनाउनका लागि थारु बस्तीमा रौनकता छाएको हो । कामको शिलशिलामा घरबाट टाढा गएका दाजुभाइहरु पर्व मनाउनका लागि गाउँघरमा पुगिसकेका छन्भने कतिपय आउने क्रम चलिरहेको छ । यस्तै थारुबस्तीमा माघौटा नाच, झुमरा नाच, ढमारलगायत लोक गीतसँगै मादलको आवाज पनि गाउँघरमा गुन्जिन लागेको छ । माघ १ गते अर्थात भोली विहान नजिकको नदि, ताल, पोखरीमा नुहाउने र आ–आफ्नो आफन्तसंग भेटघाट गर्ने, अर्शिवाद लिने र दिने प्रचलन रहेको छ ।

माघ १ गते नुहाउनाले वर्षभरि गरेका पाप, कुकर्म, वैमनष्यता पखालिने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास समेत रहेको छ । माघ २ गतेको दिनलाई खिच्रहवा पनि भनिन्छ । यो दिनदेखि माघी देवानी तथा खोजनी बोजनी सुरु हुने थारु बुद्धिजीवीहरुको भनाई छ। थारु गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एंव भल्मन्सा, बरघर, देशबन्धिया, अघरियार्, लगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व चयन गर्ने प्रक्रियालाई ‘माघी देवानी’ भनिन्छ । यस्तो प्रचलन दाङदेखि पश्चिम कञ्चनपुरसम्म रहेको छ । एक परिवारको सबै सदस्यहरु एकजुट भएर वर्ष दिनमा भए गरेका पारिवारिक गतिविधि र अगामी दिनमा कसरी बढ्नेबारे छलफल पनि हुने गर्दछ तर पछिल्लो समय यस्तो चलन हराउँदै गएको थारु अगुवाहरु बताउँछन् ।।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।