फाइल फोटो
तुलसीपुर, २३ असोज । नेपालीहरुको महान पर्व वडादशैँ सबैको घरघरमा भित्रिसकेको छ । यतिवेला सवैजना दशैँ मनाउने तयारीमा छन् । यो समयमा थारु समुदायमा नाचिने सखिया नाचले थारु गाउँबस्तीमा रौनकता छाएको छ । थारु बस्तीमा पहिलेपहिले दसैँ सुरु हुनुभन्दा १ महिना अघिदेखि सखिया नाचको रौनक सुरु हुन्थ्यो । तर हिजो आज थारु बस्तीमा घटस्थापनादेखि तथा दशैँ सुरुभएसँगै नाच्ने गरेको पाइन्छ । तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा करिव १ दशक अघिसम्म सखिया नाच नाच्ने युवा तथा युवतीहरुको लर्को हुन्थ्यो । गाउँभरिका करिव ६०। ७० जना युवायुवती जम्मा भएर नाच्ने सखिया नाच विस्तारै गाउँने नाच्ने युवायुवतीको अभाव हुँदै गएपछि दशैँ अवधिभरी ९।१० दिन मात्रै नाच्ने चलन बस्यो । हुँदा हुँदा २०७७।०७८ सालमा आउँदा त नाच्न नै छोडिसकेका थिए तर आफ्नो संस्कृति बचाउनुपर्छ भनेर फेरी यस वर्षको दशैँदेखि नाच्न सुरु भएको स्थानिय कालुराम चौधरीले बताउनुभयो ।
पड्ढामा मात्रै नभइ अन्य स्थानका थारु बस्तीमा पनि सखिया नाचले दशैँमा रौनकता थपिएको छ । सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन । थारु समुदायमा यसले आफ्नै ऐतिहासिक विशेषता बोकेको छ । गैर थारुहरुको भन्दा फरक संस्कृति बोकेको थारु समुदायमा बाहेक अन्य समुदायमा यो नाच नाचिदैन । यो नाचमा भगवान श्रीकृष्णको लीलामा आधारित गीत गाएर शास्त्रीय नृत्य गरिने थारु बुद्धिजीवी छोटीलाल थारुले बताउनुभयो ।
‘क्रमबद्ध तरिकाले कृष्णलिलामा आभारित भएर गाउनु पर्ने हुन्छ, उहाँले भन्नुभयो । लामो समयसम्म नाचिने भएकाले समय धेरै लाग्ने गर्दछ । गीत पनि धेरै लामो हुन्छ । अरु गीत जस्तो सखिया गीत भने हुँदैन । उहाँले पहिले धेरै नै नाच्ने गरेको सखिया नाच आधुनिकतासँगै केही लोप हुन थालेकोे बताउनुभयो । पछिल्लो समय रोजगार र पढाईको शीलशीलामा धेरै युवायुवतीहरु घर बाहिर नै बस्ने हुनाले यस्तो अवस्था आएको उहाँको भनाइ छ । ‘तर हाम्रो संस्कृति हो यसो भन्दैमा लोप हुन दिनुहुँदैन । सबै मिलेर बचाउनुपर्छ,’ उहाँले भन्नुभयो । कतै नाच्न छोडिसकेको गाउँमा पनि संरक्षण गर्नुपर्छ भनेर पछिल्लो समय थारु अगुवा तथा थारु संघसंस्थाहरुले आवाज उठाउँदै गर्दा सखिया गीतहरु छोट्याएर नाच्न थालेको उहाँले बताउनुभयो । लाहो समय नाच्न नसकिए पनि दशैँ अवधिभरी नाच्न सके संस्कृति बच्नुका साथै थारु बस्तीमा वास्तविक दशैँको महशुस हुने थारु समुदायका नागरिकहरु बताउँछन् ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।