२०८३ कार्तिक १० गते सोमवार

आन्दोलनरत गुठीपीडिट मोही किसानहरु अस्पताल भर्ना हुँदा समेत राज्यले वास्ता नगरेको गुणासो

तुलसीपुर, १४ फागुन । खुला आकाश मुनी रात दिन आन्दोलनरत गुठी पीडित मोही किसानहरुको स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना भइरहेका छन् । तर राज्यले उनीहरुको माग सम्बोधनका लागि आन्दोलनको छैटौँ दिनसम्म पनि कुलै पहल नथालेको गुणासो गरेका छन् । चिसो मौसममा खुला आकास मुनी रातदिन आन्दोलन गर्दा पनि राज्यका कुनै निकायले आफूहरुको माग सम्बोधनका लागि वेवास्ता गरिरहेको उनीहरुको गुणासो छ । काखमा दुधे बच्चादेखि ६५÷७० वर्षका जेष्ठ नागरिकहरु हक अधिकारका लागि आन्दोलनमा उत्रिएका छन् ।

बालबालिकादेखि सामाजिक सुरक्षा भत्ता खाने जेष्ठ नागरिक खुल्ला आकाशमा बसेर आन्दोलन गर्दा उनीहरुको स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखिएको गुठी पीडित संघर्ष समितिका अध्ययक्ष प्रभु चौधरीले बताउनु भयो । ६÷७ रात आफ्नो अधिकारका लागि चिसो मौसममा खुला आकासमुनी बसेर आन्दोलनरत गुठी किसानहरुको स्वाथ्यसँग राज्यले खेलवाड गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अहिलेसम्म ९÷१० जना विरामी भएर अस्पताल भर्ना हुनुभएको छ, राज्यले हाम्रो जीवनसँग खेलवाड गरिरहेको छ ।

बालबालिकालाई अहिले दादुरा–रुबेला रोग विरुद्धको खोप लगाउने अभियान चलिरहेको समयमा अभिभावकसँग आन्दोलनमा रहेकाले खोप लगाउन छुट्ने सम्भावना समेत रहेको बताउँदै राज्यले सदियौँदेखि आफूहरुलाई अपहेलना गर्दै आएको र आफूहरुको माग सम्बोधनमा कसैले चासो नदेखाउनु दुखद भएको बताउनु भयो ।

स्वर्गद्वारी गुठीअन्तर्गत दाङमा लमही, घोराही र तुलसीपुरमा गरी १२ मौजा रहेको र उक्त जमिन पुस्तौंदेखि जोतभोग गर्दै आएका तीन हजार घरधुरीका १५ हजार किसानहरुलाई मोही प्रमाण हुँदाहुँदै पनि अधिकार कार्यान्वयन नगरी स्वर्गद्वारी गुठीले आलटाल गरेकै अवस्थामा सर्वोच्च अदालतको २०६२ चैत १४ गतेको उत्प्रेषण मिश्रित परमादेशले सदाका लागि अधिकारबाट बञ्चित गराएको भन्दै किसानहरु ६ दिनदेखि आन्दोलनरत छन् ।

अदालतले स्वर्गद्वारी आश्रमलाई विशेष प्रकृतिको निजी गुठी नामाकरण गरी जमिन खण्डीकृत नगर्न, नगराउन परमादेश जारी गरेको थियो । खण्डीकृत गर्दा आश्रम नै नचल्ने अवस्था आउनसक्ने अदालतको ठहर छ । अदालतकै परमादेशका कारण मोही किसान समस्यामा परेको भन्दै किसानहरुले यस्ता समस्या समाधान गर्न सरकारले छुट्टै कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विधेयक ल्याउन सरकारसँग माग गरिरहेका छन् ।।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।