तुलसीपुर, २६ मंसिर । सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सरकारले गरेको निर्णय उल्ट्याइदिएपछि अपस्ताल विकास समितिका अध्यक्षहरू काममा फर्किएका छन् । अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्दै मंसिर १९ गते अल्पकालीन आदेश दिएपछि अध्यक्षहरु काममा फर्किएका हुन् ।
सर्वोच्चको आदेश आएसँगै अस्पतालको नियमित कामकाजका लागि फर्किएको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने जानकारी दिनुभयो । यस अघि लुम्बिनी प्रदेश सरकारले कात्तिक २५ गते माओवादी कोटाबाट दीपक शाहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो । लुम्बिनी प्रदेश सरकारले कात्तिक १ गते गरेको निर्णय विरुद्ध रुकुम पूर्व अस्पताल विकास समितिका अध्यक्ष पत्ते वली र राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले मंसिर ११ गते सर्वोच्चमा रिट दिनुभएको थियो । यस अघि लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेकाे थियाे ।
सर्वोच्चको आदेशले हुत्याइदियो शाहलाई
लुम्बिनी प्रदेश सरकारले कात्तिक २५ गते राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेपछि मंसिर ४ गतेदेखि दीपक शाहले जिम्मेवारी सम्हाल्नू भयो । तर मंसिर १९ गतेको सर्वोच्चको आदेशका कारण दुई साता नपुग्दै उहाँ बाहिरिनु पर्ने अवस्था आयो । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले भान्जे जवाइलाई अध्यक्षमा नियुक्त गरेको भन्दै पार्टी भित्र विवाद पनि सृजना भयो ।
धेरैपटकको छलफल र बहस पछि बल्लतल्ल पार्टी भित्रको आन्तरिक विवाद पनि मत्थर हुँदै गइरहेको थियो । तर सर्वोच्चको आदेशले भने शाहलाई पहिलो गाँसमा ढुङ्गा भने झै भएको छ ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।