२०८२ पुष ३० गते बुधवार

तुलसीपुर खानेपानीको २१ औं वार्षिक साधारणसभा

तुलसीपुर, ५ पुस । जिल्लामा भविष्यमा आउन सक्ने खानेपानीको संकटलाई टार्न ठोस योजना तथा नीति आवश्यक रहेको सहभागीहरुले बताएका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औं साधारणसभा एवम् संयुक्त कार्य परिषद् बैठकमा सहभागीहरुले मानव लापरवाहि र चुरे दोहन तथा जलवायु परिवर्तन लगायतका कारणले खानेपानीका मुहानहरु सुक्दै गएको भन्दै भयाभय अवस्था आउन नदिन समयमै सचेत हुनुपर्ने सहभागीहरुको भनाई थियो ।

तुलसीपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले पालिकाले जलाधार संरक्षणको कार्यलाई पहिलो प्राथमीकतामा राखेर नीति र योजना तर्जुमा गर्ने बताउनुभयो । ‘प्रत्यक नागरिकले स्वच्छ पानी पिउन पाउने अधिकार संविधानलेनै सुनिश्चित गरेको छ, यस अधिकार कार्यान्वयनका लागि स्थानीय सरकार प्रतिबद्ध छ – खड्काले भन्नुभयो ।’ उहाँले जलाधार संरक्षणको कार्य पहिलो प्राथमीकता भएको भन्दै सोहि अनुरुप खानेपानीले पनि कार्ययोजना बनाएर जान निर्देशन दिनुभयो ।

सोअवसरमा राष्ट्रिय सानाशहरी खानेपानीका केन्द्रिय अध्यक्ष खेमराज वली, संघिय खानेपानीका प्रतिनिधी देवेन्द्र कुमार झा, नेपाली काँग्रेसका सुरेश हमाल, नेकपा एमालेका मान बहादुर केसी, नेपाली कम्युनिष्ट पार्टीका मोहन थापा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ईश्वरीप्रसाद गैरे, तुलसीपुर उपमहानगरपालिका –६ का वडा अध्यक्ष दुजमान भण्डारी, तुलसीपुर उपमहानगरपालिका –७ का वडा अध्यक्ष राम बहादुर जिसी, मानव अधिकार तथा शान्तिसमाजका केन्द्रीय उपाध्यक्ष सुशील बस्नेत, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतम, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका केशव सापकोटा, निबर्तमान कार्य समितिको तर्फबाट शेवकराम भण्डारी, चोप प्रसाद धिताल, त्यसैगरी शितलपाटी खानेपानी सल्यानका अध्यक्ष केशर बहादुर बुढाथोकी, घोराही खानेपानीका कोषाध्यक्ष ध्रुव केसी, लगायतले बोल्नु भएको थियो ।

सो अवसरमा सचिव भुवन भुसालले प्रगति र कोषाध्यक्ष भोला प्रसाद थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष नारायण प्रसाद शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ पुष ५ गते शनिवार
प्रतिक्रिया