दाङ,३० पुस । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका करिब सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेको तथ्य सार्वजनिक भएको छ। तीमध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएका छन् भने बाँकी ५० प्रतिशतले बीचमै विद्यालय छाडेका छन्। राष्ट्रिय जनगणना २०७८ अन्तर्गत ‘नेपालमा शिक्षा र समावेशिता’ विषयक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार उक्त जानकारी दिएको हो। प्रतिवेदनअनुसार विद्यालय नजाने वा बीचमै छाड्ने बालबालिकाको सङ्ख्या भौगोलिक रूपमा विकट जिल्ला तथा न्यून आय भएका सीमान्तकृत समुदायमा बढी देखिएको छ।
विद्यालयबाहिर रहने जोखिम पाँच वर्षको प्रारम्भिक उमेर र माध्यमिक तहमा प्रवेश गर्ने १० देखि १४ वर्ष उमेर समूहमा उच्च रहेको छ। विशेषगरी कक्षा ५ पछिका वर्षहरूमा विद्यालय छाड्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढ्ने छ। प्रादेशिक रूपमा हेर्दा, कहिल्यै विद्यालय नगएका बालबालिकाको अनुपात मधेश प्रदेशमा करिब ६० प्रतिशत रहेको छ। त्यस्तै गण्डकी प्रदेशमा किशोरावस्थामुनिका विद्यालयबाहिर रहेका बालबालिकाको अनुपात ५ प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार मधेशी, दलित, भाषिक तथा अल्पसङ्ख्यक समुदायका करिब तीनचौथाइ बालबालिका कहिल्यै विद्यालय नगएका समूहमा पर्छन् । तुलनात्मक रूपमा पहाडी जातजाति र जनजाति समुदायमा विद्यालयबाहिर रहने बालबालिकाको सङ्ख्या कम रहेको छ। प्रतिवेदनले पाँच वर्षभन्दा माथिका व्यक्तिको साक्षरता दर ७६.२ प्रतिशत रहेको देखाएको छ । जसमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत रहेको छ।

