तुलसीपुर, १६ असार । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले धार्मिक संस्कारसंगै सामाजिक अभियानलाई संगै जोडेर लैजानु पर्ने बताउनु भएको छ । गुरुपूर्णिमाको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले तुलसीपुरमा आयोजना गरेको गुरुपूर्णिमा महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अथिति केसीले धर्म, संस्कृति, रितीरिवाज र परमपराले मानिसलाई अनुशासित बनाउने बताउनुभयो ।
मानव सेवा समितिको भवनका लागि यस वर्ष थोरै भएपनि केहि बजेट विनियोजन गरेको बताउँदै उपाध्यक्ष केसीले आगामी दिनमा भवनलाई पुर्णता दिन आवश्यक बजेटका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सन्तमहात्मा चादना बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा सन्तमहात्मा चन्द्रकान्ता वाइजी, पुजा वाइजी, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमुना कडेल शाह, योग समितिका रिना श्रेष्ठ, मानव धर्म सेवा समिति अन्तर्गत रहेको युथको तर्फबाट सुर्य बहादुर थापा, सिन्धु रिजाल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा मानव धर्म सेवा समितिको बारेमा समितिका कोषाध्यक्ष सुशिला सापकोटाले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव चन्द्र बहादुर वलीले गर्नुभएको थियो । सो अवसरमा विभिन्न बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।