तुलसीपुर, ३२ जेष्ठ । दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले तुलसीपुरको वसपार्क क्षेत्रको जग्गा आफुले नबेचेको दाबी गर्नुभएको छ । नगरपालिकाले वसपार्कको जग्गा कौडीको भाउमा बेच्यो भनेर गलत भ्रम फैलाइएको भन्दै उहाले पुर्व नगरप्रमुख शंकर आचार्यको पालामा नै बेचेको जग्गालाई आफुले अधिकार मात्रै दिएको बताउनुभएको हो । तुलसीपुरका तत्कालिन मेयर आचार्यको पालामा प्रत्यक घडेरीबाट २५ हजार मुल्य तोकेर सेतो पुर्जा दिएकोमा ३० औं वर्ष वित्दा पनि उनीहरुले त्यो जग्गाको हक अधिकार नपाएकाले आफुले अधिकार मात्रै दिएको उहाको भनाई छ । आज नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर पहिलेको स्थानिय सरकारले प्रत्यक गडेरीको २५ हजारका दरले पैसा लिसकेपछि आफुले
हक हस्तान्तरण गर्नै पर्ने बाध्यता रहेको भन्दै ५ बिगाह १० कठ्ठा जग्गा दिनुपर्नेमा अहिले सम्म २÷३ कठ्ठा जति मात्रै जग्गा दिएको बताउनुभयो । नगरपालिकाको जग्गा भनेर त्यतीकै छोडिएको भए अहिले वसपार्क यस्तो नबन्ने भन्दै नगरप्रमुख खड्काले पुर्व मेयर आचार्यलाई धन्यबाद समेत दिनुभयो । वसपार्कको जग्गा विक्रीवितरण गर्न कानुन सम्बत भएको भनेर २०६६ सालमै मन्त्रीपरिषदबाटै निर्णय भएर आएको समेत उहाले बताउनुभयो । पछि समस्या नआओस भनेर नै आफुले प्रति वर्गमिटर २० हजारका दरले राजस्व समेत उठाएको भन्दै उहाले नगरपालिकाको आम्दानी बढाएर मैले गल्ति गरेको हो ? भनेर प्रश्न समेत गर्नुभएको थियो । सम्बन्धित पास लिने व्यक्तीले नै महङ्गो भयो नभनेर २० हजार राजस्व तिर्न तयार रहेको अवस्थामा यस्तो गलत अपबाह फैलाउनु राम्रो नभएको उहाले बताउनुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका १८ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता माधव वलीले जग्गाको पैसा लिसकेपछि प्रचलित कानुन बमोजीम रहेको जग्गा दिनुपर्छ भनेर पटकपटक निर्णय भएको बताउनुभयो । २०७४ सालमा पनि जग्गा दिनुपर्छ भनेर निर्णय गरिएको भएपनि नदिएकाले फेरी वसपार्कमा घर बनाएकाहरुले निवेदन दिएपछि त्यसको अध्ययन गर्दा नागरिक साच्चिकै अन्यायमा परेको महशुस भएकाले जग्गा दिन शुरु गरिएको उहाले बताउनुभयो । अक्तियार दुरुपयोग अनुसन्धान आयोगको चिठीलाई कोट गरेर कानुनी सल्लाहाकारलाई राखेर हक हस्तान्तरणको कामलाई अघि बढाइएको समेत उहाको भनाई रहेको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।