तुलसीपुर, १२ फागुन । दाङको तुलसीपुर स्थित बसपार्कमा आधुनिक तुलसीपुर पेट्रोल पम्प सञ्चालनमा आएको छ । करिब दुई करोड लागतमा शुक्रबारदेखि पेट्रोल पम्प सञ्चालनमा आएको सञ्चालक रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।
चालिसेका अनुसार गाडीमा तेल भर्नका लागि पेट्रोल र डिजेलका ६ वटा डिजिटल पम्प, घामपानी ओत्नका लागि ट्रस्ट, आवास भवन, ८ वटा शौचालय, ३ वटा युरिन, पर्खाल समेत गरेर दुई करोड बढी खर्च लागेको छ । आधुनिक प्रविधिको डिजिटल मेसिन भएकाले मोटरसाइकल, बस, ट्याक्टर, जिप कारमा तेल भर्नका लागि विश्वासिलो र भरपर्दो रहेको तुलसीपुर पेट्रोल पम्पले जनाएको छ ।
७५३ स्थानीय तह मध्य व्यवस्थित बसपार्क निर्माणका लागि बसपार्कमै पेट्रोल पम्प राख्ने अवधारणा ल्याउने तुलसीपुर पालिका पहिलो भएको चालिसे बताउनुभयो । पम्प सञ्चालनका लागि पूर्व मेयर घनश्याम पाण्डे नेतृत्वको तुलसीपुर उपमहानगरपालिकाले नेपाल आयल निगमसँग सम्झौता गरेको थियो ।
त्यसपछि शारदा कन्ट्रक्सनले उपमहानगरसँग २० वर्षलाई लिजमा लिनेगरि सम्झौता गरेको हो । पम्प सञ्चालनमा आएपछि तुलसीपुरको बसपार्कबाट छुट्ने सवारी साधनहरूलाई तेल भर्नकै लागि बाहिर जानुपर्ने बाध्यता टर्नुका साथै समय र खर्चको पनि बचत भएको यातायात व्यवसायी केशव भण्डारीले बताउनुभयो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।