उद्योग कलकारखाना सञ्चालन नगर्न तुलसीपुर प्राधिकरणको आग्रह 

तुलसीपुर, १० माघ ।  नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण शाखाले अत्यावश्यक भन्दा बढी विद्युत खपत नगर्न नुरोध गरेको छ । दुईवटा पावर ट्रान्समिटर मध्य एउटा बिग्रिएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो ।  दुईवटा पावर ट्रान्समिटरबाट सपलाई हुँदै आएको विद्युत तत्कालका लागि एउटाबाट मात्रै सञ्चालन भएकाले ट्रिप जानसक्ने भन्दै यस्तो आग्रह गरेको हो । 

प्राधिकरणका प्रमुख ज्ञानप्रसाद फर्सालले विशेष गरेर साँझ ६ देखि ९ र बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सेवा बाह्यक, उद्योग, कलकारखाना, हिटर,  मिलहरु नचलाउन आग्रह गर्नुभएको छ । अश्वारा र तुलसीपुरमा रहेका दुई वटा पावर ट्रान्समिटर मध्य तुलसीपुरमा रहेको ट्रान्समिटर बिग्रीएको छ ।

यसलाई मर्मत गर्न अझै तीन दिन लाग्ने प्राधिकरण प्रमुख फर्सालले बताउनुभयो । मंगलबार बिहान ८ बजेदेखि अवरुद्ध  विद्युत सेवा दिउँसो २ बजे  सुचारु भएको थियो । तत्कालका लागि अश्वारा पावर ट्रान्समिटरबाट विद्युत आपूर्ति गरिएको छ । धेरै लोड भएमा विद्युत सेवा अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ ।।    

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया