तुलसीपुर, १० पुस । दाङको तुलसीपुर स्थित बसपार्कमा निर्माणाधीन तुलसीपुर पेट्रोल पम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब दुई करोड लागतमा सञ्चालनमा आउन लागेको पम्पको निर्माण कार्य करिब ९० प्रतिशत पुरा भएको शारदा कन्ट्रक्सनका प्रतिनिधि रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।
चालिसेका अनुसार गाडीमा तेल भर्नका लागि पेट्रोल र डिजेलका ६ वटा डिजिटल पम्प, घामपानी ओत्नका लागि ट्रस्ट, आवास भवन, ८ वटा शौचालय, ३ वटा युरिन, पर्खाल र रङरोगनको काम सम्पन्न भएको छ । ८ कठ्ठा क्षेत्रफलमा फलिएको पम्पको अहिले गाडी पार्किङ गर्ने ठाउँ देखि भुँई पर्स गर्ने काम भइरहेको छ ।
७५३ स्थानीय तह मध्य व्यवस्थित बसपार्क निर्माणका लागि बसपार्कमै पेट्रोल पम्प राख्ने अवधारणा ल्याउने तुलसीपुर पालिका पहिलो भएको चालिसे बताउनुभयो । पम्प सञ्चालनका लागि पूर्व मेयर घनश्याम पाण्डे नेतृत्वको तुलसीपुर उपमहानगरपालिकाले नेपाल आयल निगमसंग सम्झौता गरेको थियो । त्य सपछि शारदा कन्ट्रक्सनले २० वर्षलाई लिजमा चलाउनेगरी उपमहानगरसँग सम्झौता गरेको हो । पम्प सञ्चालनमा आएमा तुलसीपुरको बसपार्कबाट छुट्ने सवारी साधनहरूलाई तेल भर्नकै लागि बाहिर जानुपर्ने बाध्यता टर्नुका साथै समय र खर्चको पनि बचत हुने यातायात व्यवसायी केशव भण्डारीले बताउनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।