दगीशरण, ७ पुस । दंगीशरण गाउँपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी दंगीशरण गाउँपालिका भित्र बसोबास गरेका र दंगीशरणका स्वास्थ्य सस्थाहरुमा सुत्केरी भएका तथा रिफर गरिएका सुत्केरी महिलाहरूका लागी सुत्केरी प्रोत्साहन पोषण भत्ता बितरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय तहको दोस्रो निर्वाचन पश्चात आएका नब निर्वाचित जनप्रतिनिधिले पहिलो नीतिगत निर्णय गरेको र त्यसको कार्यान्वयनको पहिलो चरण स्वरुप सुत्केरी पोषण भत्ता बितरण गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले बाल शिशु मृत्युदर र मातृ मृत्युदर कम गर्न आफूहरूले पहिलो नीतिगत निर्णय गरेको बताउनुभयो । यस्तै अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले महिलाहरू नियमित रुपमा पालिकाभित्र रहेका बर्थिङ सेन्टरमा गर्भावस्था चेक गराउँदै राज्यको तोकिएको सुविधा उपभोग गर्न आग्रह समेत गर्नुभयो ।
यस्तै दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले कार्यक्रमको उद्देश्य बारे जानकारी गराउँदै नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमबाट २ हजार आठ सय र दंगीशरणको सुत्केरी पोषण प्रोत्साहन भत्ता बाट तीन हजार दुइ सय समेत गरेर छ हजार भत्ता बितरण गरिएको बताउनुभयो । यस्तै सामाजिक विकास समितका संयोजक रोशन जङ्ग शाहले आमा तथा नवशिशु कार्यक्रम मार्फत दिगो विकास लक्ष्य हासिल गर्न मातृ मृत्यु प्रति एक लाख जीवित जन्ममा ७० मा र बाल शिशु मृत्युदर प्रति १ हजार बाट १२ जनामा झार्ने लक्ष्य मुताबिक पोषण सुधार गरी सहयोग पुर्याउन कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै वडा न ३ का वडा अध्यक्ष तथा आर्थिक समितका संयोजक सुकलाल चौधरीले शिशुको पोषणयुक्त सवालमा अभिभावकले अत्यन्तै चासो दिन आग्रह गर्नुभयो ।पोषण भत्तालाई नितान्त सही सदुपयोग गरी मातृ तथा शिशुको स्वास्थ्य स्वस्थ राख्नु पर्ने बताउनुभयो । सुत्केरी महिलाहरूका लागी सुत्केरी पोषण भत्ता बितरण कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा दंगीशरणकी राधा शर्माले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।