दाङ ५ पुस । पश्चिम दाङमा पुरन्धारा अस्पताल भवनको निर्माण कार्य ७० प्रतिशत पुरा भएको छ । पुरन्धारा स्वास्थ्य चौकीको स्तर वृद्धि गरेर १५ शैयाको अस्पताल भवनको निर्माण कार्य सुरु गरिएको हो । करिब १५ करोड लागतमा निर्माण कार्य सुरु भएको भवनको निर्माण हालसम्म ७० प्रतिशत पुरा भएको बबई गाउँपालिका इन्जिनियर राजेश देवकोटाले जानकारी दिनुभयो ।
स्ट्रेचरमा बिरामीलाई राखेर एक तलाबाट अर्को तलामा लैजानका लागि भवनको पछिल्लो भागमा ¥याम बनाइएको छ भने वैकल्पिक मार्गका रुपमा लिफ्टको पनि व्यवस्था गरिएको छ । अत्याधुनिक प्रविधिबाट निर्माण गरिन लागिएको दुईतले भवनमा करिब ४६ वटा कोठा रहेका छन् । २०८१ कार्तिक १५ गते भवनको निर्माण कार्य पुरा गर्नेगरी प्रतिष्ठा क्षितिज ज्ञानज्योति जेभी काठमाण्डौले २०७८ वैशाखमा १४ करोड ७४ लाख ७६ हजार ६ सय ७६ रुपैयाँमा सम्झौता गरेको इन्जिनियर देवकोटाले बताए । भवन निर्माणका लागि १८ करोडको लागत अनुमान गरिए पनि निर्माण कम्पनीले कम बिलोमा अर्थात (घटेर) ठेक्का लिएको हो । निर्माण कम्पनीले समयअगावै काम सक्ने तयारी गरेको इन्जिनियर देवकोटाले बताए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि ‘एक स्थानीय तहः एक अस्पतालको अवधारणा अघि सारेको हो । पश्चिम दाङमा सुविधा सम्पन्न अस्पताल नहुँदा त्यहाँका नागरिकहरूलाई सामान्य उपचारका लागि तुलसीपुर, घोराही र नेपालगन्ज जानु पर्ने बाध्यता छ । कर्णाली भनेर चिनिने पश्चिम दाङको पुरन्धारामा भवन निर्माणसंगै १५ शैयाको अस्पताल सञ्चालनमा आएमा हजारौं नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।