तुलसीपुर, ३० साउन । तुलसीपुुर उपमहानगरपालिका–१३ नम्बर वडाले निवेदन र फोटोकपी सेवा निशुल्क गर्ने भएको छ । कार्यालयमा सेवा लिन आउने नागरिकको सहजका लागि निवेदन र फोटोकपी सेवा निःशुल्क गरेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो ।
उपमहानगरको विकट वडाको रुपमा परिचित वडामा सेवा लिन आउने नागरिकहरुले निवेदन र फोटोकपीका कारण हैरानी खेप्नु परेकाले उनिहरुको सहजताका लागि यस्तो सेवा उपलब्ध गराएको अध्यक्ष पौडेलले बताउनुभयो ।
‘म त्यतिकै अध्यक्ष भएको होइन । यहाँका वडाबासीको ठूलो योगदान छ । गाउँमा विकास होला । जनताको पिरमर्का बुझ्ला भनेर मलाई भोट हालेर विजयी बनाउनु भएको हो । त्यसका कारण सामान्य कारणले जनताले दुःख नपाउन भन्ने उद्देश्यले उहाँहरुलाई सानो भएपनि सहयोग गर्ने जमर्को गरेको हुँ ।’ वडा अध्यक्ष पौडेलले भन्नुभयो ।
वडामा सेवा लिनजाँदा निवेदन लेखेको र नागरिकता, लालपुर्जा लगाएका महत्वपूर्ण कागजातहरुको फोटोकपी गरेको पैसा नलाग्ने भएपछि स्थानीयहरु खुशी भएका छन् । यस अघि वडाबासीले निवेदन र फोटोकपीको शुल्क तिर्दै आइरहेका थिए ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।