तुलसीपुर, १७ साउन । चौतर्फी बिरोध भएपछि दाङको टरिगाउँ एयरपोर्टमा जहाजमा तेल भर्ने बाउजर मेसिन लिन आएको प्राविधिकको टोली रित्तै फर्किएको छ । बाउजर लिनका लागि काठमान्डौबाट प्राविधिकको टोलि तुलसीपुरमा आइपुगेको समाचार डिजिटल पत्रिका तुलसीपुर खबर डटकमले प्रकाशित गरेपछि तुलसीपुरबासी आन्दोलित भएका थिए । तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योगबाणिज्य संघको नेतृत्वमा एयरपोर्टममा पुगेका स्थानीय नागरिकहरुले हवाई इन्धन डिपोको गेटमा ताला लगाउनुका साथै जबरजस्ती लग्न खोजे त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएपछि टोलि सोमबार (हिजो) फर्किएको हो । बाउजर लिनका लागि ४ जनाको टोलि साउन १४ गते बेलुकी तुलसीपुर आइपुगेको थियो । टोलि फर्किए संगै बाउजरको सुरक्षार्थ एयरपोर्टमा खटिएका कर्मचारीलाई बोलाएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो ।
यता नेपाल आयल निगम इन्जिनेरिङ परियोजना विभागका डाइरेक्टर सुरज शाहले पनि टोलि फर्किएको पुष्टि गर्नुभएको छ । स्थानीले बिरोध गरेपछि प्राविधिकको टोलि फर्किएको शाहले बताउनुभयो ।
‘पहिला पनि रामेछापको मन्थली बिमानस्थलबाट त्यो बाउजर दाङमा लगिएको हो । त्यहाँ नहुँदासम्म यता काम चलाउन सकिन्छ कि भन्ने मात्रै हो । नयाँ ल्याउन टेण्डर गर्नुपर्ने भएकाले ८÷१० महिना लागि हाल्छ । हुन नदिनका लागि होइन । किन भने त्यहाँ धेरै लगानी लागि सेको छ ।’ डाइरेक्टर शाहले भन्नुभयो । शाहका अनुसार अबको केहि महिनामा नयाँ बाउजर मेसिन पनि टरिगाउँ एयरपोर्टमा आउन लागेको बताउनुभयो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।