विद्यार्थीलाई उद्यमशिलता सिकाउँदै पूर्व मेयर पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा नगरप्रमुखको रुपमा पाँच वर्षे पदावधि सकिएपछि घनश्याम पाण्डे अहिले उद्यमशिलता सिकाउँदै हिडिरहेका छन् । आर्थिक विकासको मुल आधार उद्यमशिलता भएको भन्दै पाण्डेले विभिन्न विद्यालय र समुहका युवाहरुलाई उद्यमशिलतामा लाग्न प्रेरित गर्न थालेका छन् । ‘देशलाई वास्तवमै आर्थिकरुपमा समृद्ध वनाउने हो भने हामी उद्यमशिल बन्नै पर्दछ’ तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै पाण्डेले भने ।

कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरुलाई उत्प्रेरित गर्दै उनले कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने हो भने उद्यमशिलतामा लाग्नुपर्ने बताए । ‘हामीले पढ्दै केही सानोतिनो उद्यम सञ्चालन गरेर पनि उद्यमी बन्न सक्छौ’ उनले भने । कृषि उत्पादनलाई उद्योग र व्यवसायसँग जोड्नका लागि कृषि विज्ञान पढ्ने विद्यार्थीहरुको आवश्यकता पर्ने उनको भनाई थियो ।
नेपालमा कृषि र वनमा आधारित उद्यमको आवश्यकता रहेको भन्दै हरेक विद्यार्थीमा उद्यमी बन्ने सपना सानैदेखि पलाउनुपर्नेमा उनले जोड दिए । उद्यमशिलता सम्बन्धि विद्यार्थीहरुका विभिन्न जिज्ञासा मेट्दै ग्रीन फाउन्डेशन नेपालमा अध्यक्ष समेत रहेका पाण्डेले अहिलेको आवश्यकता हरित रोजगारीको भएको वताए । ‘हामीले हाम्रै घर वरपर उब्जनी गर्न सकिने विरुवाहरुमा आधारित उद्योगहरु सञ्चालनमा जोड दिनुपर्दछ’ उनले भने ।

उद्यम सञ्चालनका लागि गर्नुपर्ने महत्वपूर्ण कुराहरुका बारेमा पनि उनले विद्यार्थीहरुलाई सचेतना प्रदान गरेका थिए । कार्यक्रममा कलेज प्रमुख वसन्त आचार्य र ग्रिन फाउन्डेसनका जिल्ला सचिव सुरेश रावतको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया