२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरका ५२ वटा पसलमा ठेकेदारको ताला

तुलसीपुर,  १ बैशाख  । तुलसीपुरको बसपार्कमा रहेका पसलमा बिना जानकारी ठेकेदारले ताला लगाईदिएको व्यवसायीहरुले गुनासो गरेका छन् । प्रहरी र केही युवाहरु परिचालन गरेर आफुहरुको पसलमा मंगलबार ताला लगाईदिएको नयाँ बसपार्क टहरा व्यवस्थापन समितिका सचिव जेएल नेपालीले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाको स्वामीत्वमा रहेको बसपार्कमा बाउन्नवटा सटर रहेका छन् । ती सबै सटरमा ताला लगाएको छ ।
एक लाख रुपैयाँ धरौटी(एड्भान्स) सहित मासीक १४ देखि १६ हजार प्रतिमहिनाको भाडा तिर्नुपर्ने भनेपछि आफुहरुले नतिरेको र ठेकेदारले प्रहरीको बलमा केटाहरु लगाएर ताला लगाएको सचिव नेपालीले बताउनुभयो ।

यस अघि व्यवसायीले मासीक ८ देखि १० हजार रुपैयाँमा तुलसीपुर उपमहानगरपालिकालाई बुझाउने गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको नगर सभाले पश्चिम तर्फका सटरको आठहजार र पूर्व तर्फका सटरको भाडा दशहजार तोकेको छ ।  बिजुली, खानेपानी, शौचालय, फोहरको व्यववस्था नगरेर एक्कासी भाडामात्रै असुल्ने काम गरेको नयाँ बसपार्क टहरा व्यवस्थापन समितिका अध्यक्ष प्रमिला कठायतले बताउनुभयो ।

‘हिजो घरबेटीकोमा खाना खाएँ । अहिले चार बजीसक्यो । म भोकै छु । खाना पकाउने ग्यास, भाँडाकुँडा त्यही छन् ।’ भोली नयाँ बर्षमा बिक्री हुन्छकी भन्ने आशा लागेको थियो । बन्द भयो के गरेर खानेहोला ?’ अध्यक्ष प्रमिला केसीले भन्नुभयो । यता केसी फेन्सी स्टोरका प्रोपाईटर इश्वरी केसीले ठेकेदारले आफ्नो स्वार्थ मात्रैभन्दा पनि व्यवसायीक हितका पक्षमा सोच्न आग्रह गर्नुभयो । ‘ठेकेदार स्थानीय पनि हो । व्यसाय फस्टाएपछि उहाँको पनि आम्दानी बढ्ने हो । सबैको व्यापार एकनासको छैन । कानुनी मात्रै भन्दा पनि व्यवहारीकता हेरेर निर्णय लिदाँ दुबै पक्षलाई सहज हुन्छ ।’ केसीले भन्नुभयो । किनकी कोभिडबाट संकटमा परेका व्यसायी भर्खर लयमा फर्किदैछन् । ’

व्यवसायीहरुले तत्काल ठेकेदारले तोके अनुसार भाडा र धरौटी रकम दिन नसक्ने भन्दै उचित निकासका लागि तुलसीपुर उद्योगबाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिका र स्थानीय प्रशासनलाइ आग्रह गरेका छन् । यता बस पार्क ठेक्कामा लिएको बुढाथोकी सप्लायर्सले बारम्बार ताकेता गर्दासमेत सम्झौता गर्न नआएका कारण ताला लगाउनु परेको बताएको छ ।
एकलाख धरौटी रकम सहित १२ देखि मासीक १४ हजार रुपैयाँ मात्र भनेको र व्यवसायीहरुले सरकारी घरमा बसेकाले नतिर्ने भन्दै अटेरी गरेको संचालक भिमबहादुर बुढाथोकीले बताउनुभयो । बसपार्कमा व्यवसायीहरुसंग उठाएर खाने गिरोहको उस्काहटमा व्यवासायीले विद्युत, खानेपानीको समेत पैसा नतिरेको बुढाथोकीले आरोप लगाउनुभयो ।

‘उपमहानगरको तोकेको रकम भन्दा ४७ प्रतिशत बढीले कोबोल गरेको छु । कबुल गरेको रकम अनुसार २० प्रतिशतसम्म मुनाफा लिन पाइन्छ । त्यसरी लिनेहो भने १९ हजार रुपैयाँ सम्म पर्छ तर त्योसो भनेको छैन,’ बुढाथोकीले भन्नुभयो– ‘आउनुस सम्झौता गरौ मलाई पनि पैसा आउने आधार हुन्छ भन्दा उहाँहरुले मान्नुहुन्न ।’

भ्याट बाहयक २ करोड २३ लाख ३१ हजारु ७ सय ८६ रुपैयाँ बार्षिक रुपमा तिर्नेगरी बुढाथोकी सप्लायर्सले फागुन २० गतेदेखि तुलसीपुर बसपार्क ठेक्कामा लिएको तुलसीपुर उपमहानगरपालिका राजश्व महाशाखा प्रमुख भेषराज चन्दले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले एक करोड ५३ लाख ८७ हजार बार्षिक रुपैयाँ तिर्नेगरी टेण्डर आब्हान गरेको थियो ।  तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पोडेलले जसले बढी कबोल गर्छ उसैलाई दिने नीति अनुरुप ठेक्का दिएकाले नगर सभाले गरेको निर्णय अनुसार आफुले केहि भन्न नमिल्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।