तुलसीपुर, ११ फागुन । कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८ जंगी अड्डामा सोमबारदेखि सुरु भएको छ । बैठक भोली बिहीबारसम्म संचालन हुने छ । कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भू–राजनैतिक अवस्थितीको कारण अन्तर्राष्ट्रिय र क्षेत्रिय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नु भएको थियो ।
काठमाण्डौं–तराई÷मधेस द्रुतमार्ग लगायतका विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँले उक्त आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको बताउनु भएको थियो । कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको जानकारी गराउँदै प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहीरहने छ भन्ने विश्वास दिलाउनु भएको थियो ।
समन्वयात्मक बैठकमा नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।






